मझगाउँ विमानस्थल निर्माणको अल्झन हट्यो, रोकिएको काम छिट्टै सुरु हुने

१ बर्ष अघि

२0७९ माघ १८ बुधबार

मझगाउँ विमानस्थल निर्माणको अल्झन हट्यो, रोकिएको काम छिट्टै सुरु हुने

कञ्चनपुर। जग्गा प्राप्त नहुँदा रोकिएको मझगाउँ विमानस्थल निर्माण पुनः सुरु हुने भएको छ। औपचारिक रूपमा जग्गा प्राप्त नभए पनि मौखिक सहमतिका आधारमा निर्माण अघि बढाइने भएको हो।

विमानस्थलको दक्षिणतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्नबाटिका र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खेल मैदान रहेको जमिनको भोगाधिकार नपाउँदा निर्माण रोकिएको थियो।

जेठ अन्तिममा उक्त क्षेत्रमा धावनमार्ग निर्माण गर्दा निकुञ्ज प्रशासनले निर्माण कम्पनीका एस्क्काभेटरदेखि कामदारसमेत नियन्त्रणमा लिएको थियो।

एस्क्काभेटर चालकमाथि निकुञ्जले मुद्दा नै चलाएको थियो।

पछिल्लो समय जग्गा प्राप्तिको प्रक्रियासँगै काम गर्न दिने मौखिक सहमतिपछि निर्माण पुनः सुरु हुने तयारी गरिएको मझगाउँ विमानस्थलका आयोजना प्रमुख मीनराज ओझाले बताए। अब रोकिएको काम छिट्टै सुरु हुनेछ। 

‘निकुञ्ज प्रशासन र नेपाली सेनाले काम नरोक्ने मौखिक सहमति जनाएका छन्,’ ओझाले भने, ‘जग्गा प्राप्तिका लागि पनि आवश्यक प्रक्रिया अघि बढिसकिएको छ।’ 

मंसिरमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहित भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरलगायत नेपाली सेना, निर्माण कम्पनीका प्रतिनिधिलगायतको छलफलबाट निर्माणमा अवरोध नगर्ने लिखित सहमति भएको थियो। 

उक्त सहमतिपछि निर्माण कम्पनी कान्छारामरकेएसरउमा एन्ड कम्पनीले काम पुनः सुरु गर्न लागेको हो। यसअघि पनि स्थानीय र जनप्रतिनिधिले निर्माण पुनः सुरु गर्न पटकपटक मौखिक सहमति जनाइसकेका छन।

‘कामदारदेखि निर्माणका उपकरण सबै तयार भइरहेका छन्, अब काम सुरु हुन्छ,’ निर्माण कम्पनी कान्छाराम÷केएस जेभीका इन्जिनियर जितेन्द्रकुमार यादवले भने, ‘रनवेमा माटो भर्ने काम सकिएको छैन, साइड क्लियर पनि पूरा भएको छैन।’

असारसम्म केही मात्रामा माटो भर्ने र साइड क्लियर पार्ने काम भएको छ। रत्नवाटिका क्षेत्रमा रहेका बुट्यान र रूख हटाउने क्रममै निकुञ्जले अवरोध गरेको थियो।

विमानस्थल निर्माणका लागि ०७८ कात्तिकमा ४५ करोड ६६ लाखमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ।

अहिले मझगाउँ विमानस्थलको लम्बाइ १ हजार मिटर छ। रत्नवाटिका र सेनाले भोगचलन गरिरहेको जमिन प्राप्त भएपछि यसको लम्बाइ १५ सय २५ मिटर पुग्छ।