सुदूरपश्चिममा कुष्ठरोगीको संख्या बढ्दै

१ बर्ष अघि

२0७९ माघ १४ शनिबार

सुदूरपश्चिममा कुष्ठरोगीको संख्या बढ्दै

दार्चुला । सुदूरपश्चिममा कुष्ठरोगीको संख्या बढ्दै गएको छ । चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा प्रदेशभरी ७२ जना नयाँ बिरामी फेला परेका स्वास्थ्य निर्देशनालयले जनाएको छ । कैलाली, कञ्चनपुर र अछाममा अन्य जिल्लाको तुलानामा कुष्ठरोगीको संख्या बढी देखिएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत मनोज ओझाले बताए । 

स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा १३१, कञ्चनपुरमा ३२ र अछाममा २५ जना कुष्ठरोगी उपचारमा रहेका छन् । यस्तै डोटीमा ५, बाजुरामा ४, बझाङमा ३, दार्चुला र बैतडीमा २÷२ र डडेल्धुरामा १ जना कुष्ठरोगी रहेको ओझाले बताए । सुदूरपश्चिम प्रदेशमा २०५ कुष्ठरोगी उपचारमा रहेका छन् । 

सुदूरपश्चिममा रहेका कुष्ठरोगका बिरामीमा १६० जनामा बढी सर्ने र ४५ जनामा कम सर्ने कुष्ठरोग देखिएको तथ्यांकमा निर्देशनालयले जनाएको छ । 

कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणका कारण अझै धेरै बिरामी खुलेर बाहिर आउन नसकेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । उपचार गरेमा कुष्ठरोग पूर्ण रुपमा निको हुने भएपनि विभिन्न कारणले कुष्ठरोगीहरु खुल्न नसकेका जनस्वास्थ्य अधिृकत ओझाले बताए । 

सरकारले सन् २०३० भित्र कुष्ठरोगीको संख्या शून्यमा झार्ने लक्ष्य राखेको छ ।