कास्की । पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२–५०० विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ ।
कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो । स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी थिए ।
गाउँपालिकाले उनलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो । केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक थिए ।
गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताए । मंगलबार बसेको गाउँ कार्यपालिका बैठकले केसीको शालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने निर्णय गरेको हो ।
केसीले अमेरिकाबाट पाइलट कोर्स पढेर आएका थिए । उनले २०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरुवात गरेका हुन् । पछिल्लो समय केसी यती एयरलाइन्समा आवद्ध थिए । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए ।
यही माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको छ । उक्त दुर्घटनामा परेकाहरूमध्ये अझै एक जनाको शव प्राप्त हुन सकेको छैन ।