ओलीको बोली फेरियो : अब घरघरमा ग्यास पाइप होइन, चुलो चुलोमा बिजुलीको तार !

५ बर्ष अघि

२0७५ कार्तिक ६ मंगलवार

ओलीको बोली फेरियो : अब घरघरमा ग्यास पाइप होइन, चुलो चुलोमा बिजुलीको तार !

दृष्टीकोण समाचार ,कार्तिक ६  काठमाडौं – पहिलो पटक प्रधानमन्त्री भएको बेला प्रधानमन्त्री ओलीले घरघरमा पाइपबाट ग्यास पुर्‍याउने योजना सुनाउनु भएको थियो ।भारतको नाकाबन्दीका कारण नागरिकले एक सिलिन्डर ग्यास र एक लिटर पेट्रोल पनि पाउन नसकेको बेला ओलीले घरघरमा पाइपबाट ग्यास पुर्‍याउने योजना सुनाउँदा खुब मजाक पनि उडाइयो ।तर आफूले ३ वर्षअघि गरेको घोषणाबाट प्रधानमन्त्रीपछि हट्नुभएको छ । ओलीले अब घरघरमा पाइपबाट ग्यास नभइ घरघरमा बिजुलीका तार पुर्‍याउने र आयातीत इन्धनको साटो आफ्नै देशमा उत्पादन हुने बिजुली प्रयोग गर्ने घोषणा गर्नुभएको छ ।एसियाली विकास बैंकको सहयोगमा काठमाडौं ल्याइएका विद्युतीय बसको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले त्यो बेला ग्यासको पाइप चुलामा भन्ने भाषण गर्दा खुब चर्चा चल्यो, अब ग्यासको पाइप होइन, छिटै नै हामी चुलो चुलोमा बिजुलीका तार भन्ने युगतिर जाँदैछौं ।’प्रधानमन्त्री ओलीको भाषणले हल हाँसोमय भयो । हाँसो रोकिन नपाउँदै उहाँले भन्नुभयो, ‘संसार छिटो छिटो बगेको छ, हामीले पनि ३ वर्षमा योजना बदलेर ग्यास पाइप चुलोमा होइन बिजुलीको तार चुलोमा पुर्‍याउने  हो, केही मान्छेलाई फेरि पनि अनौठो लाग्न सक्छ , तर दुनियाँ बदलिरहेको छ ।’प्रधानमन्त्री ओलीले अब छरिएर रहेका बस्तीलाई सामूहिक बस्तीमा रुपान्तरण गर्ने र विद्युतीकरण मार्फत घरयासी कामकाजमा समेत विद्युतीय सामग्रीकै प्रयोग बढाउने दाबी पनि गर्नुभयो ।