रवि लामिछानेलाई उन्मुक्ति दिए राष्ट्रियता नै खतरामा, नेपाल सिक्किमीकरण हुने खतरा

१ बर्ष अघि

२0७९ माघ ४ बुधबार

रवि लामिछानेलाई उन्मुक्ति दिए राष्ट्रियता नै खतरामा, नेपाल सिक्किमीकरण हुने खतरा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले एकै समयमा दुई देशको नागरिकता लिएको स्विकार गरेका छन् ।

सर्वोच्च अदालतलाई पठाएको जवाफमा लामिछानेले नेपाली नागरिकता नत्यागी अमेरिकी नागरिकता लिएको र पछि नेपाल फर्केर अमेरिकी नागरिकता त्यागेको तर नयाँ नेपाली नागरिकता नबनाएको जवाफ दिएका हुन् । आफू नेपाली भएको र पुरानै नागरिकताले कामकारबाही सुरू गरेको दाबी उनले गरेका छन् ।

नेपाल नागरिकता ऐन २०६३ मा विदेशी नागरिकता लिनुअघि नेपाली नागरिकता त्यागेको जानकारी गराउनुपर्ने व्यवस्था छ । ऐनको दफा १०९२० को यो व्यवस्था पालना नगरेका लामिछानेले पछि विदेशी नागरिकता त्याग्दा पुन नेपाली नागरिकताको प्रतिलिपि लिनुपर्ने  दफा ११ को व्यवस्था पनि पालना गरेनन् । दुबै देशको नागरिकता एकसाथ बोकेका लामिछानेले अदालतमा आफू नेपाली नागरिक भएको भन्दै  वैधानिकताको दाबी गरेका छन् ।

लामिछानेले २०५० सालमा काठमाडौ जिल्ला प्रशासनबाट लिएको नेपाली नागरिकता कायम भएकै बेला २०७०र११र९ अमेरिकी नागरिकता लिएको स्विकार गरेका छन् ।  एकै समय दुई देशको नागरिकता बोक्नु वैधानिक भएको दाबि उनको जवाफमा देखिन्छ । त्यतिमात्रै होइन अमेरिकाको पासपोर्ट हुँदाहुँदै नेपालको पासपोर्ट लिएको तर प्रयोग नगरेको दाबि लामिछानेले गरेका छन् । तर राहदानी ऐनअनुसार यो फौजदारी कसुर हो । यसमा तीन वर्षसम्म सजाय र जरिवाना हुनुपर्छ । तर लामिछानेको हकमा सर्वोच्चले अन्तरिम आदेश समेत दिएको छैन ।

लामिछानेले स्विकारिसकेको अवस्थामा न्यायालयबाट उन्मुक्ति पाए भने यसले देशको राष्ट्रियता नै संकटमा पर्ने चिन्ता विज्ञहरूले गरेका छन् । रविको उन्मुक्तिले एकसाथ दोहोरो नागरिकता र पासपोर्ट लिन पाउने नजिर बन्ने र नेपालजस्तो अल्पविकसित देशका लागि यो आत्मघाति बन्ने एक परराष्ट्र मामिला जानकारले बताए । त्यसपछि नेपाल र भारतको नागरिकता लिनेहरू पनि बढ्ने र यसले मधेशमा ठूलो समस्या ल्याउने चिन्ता उनको छ ।

नागरिकता र पासपोर्टको किनबेच तथा नेपालको अस्थित्वमाथि नै संकट आउने, सिक्किमीकरणको बाटोमा अग्रसर हुने खतरा उनले देखाए । नागरिकतामा कडाइ गर्नुपर्ने, बहुदलपछि वितरण गरिएका नागरिकता छानविनको आवाज उठिरहेका बेला लामिछानेको मुद्दा निर्णायक बन्ने जानकारहरू बताउँछन् ।