सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

१ बर्ष अघि

२0७९ माघ ४ बुधबार

सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाण्डौ – नेकपा एमालेले प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहान बालकोटमा बसेको एमाले शीर्ष नेताहरूको बैठकले झापा २ बाट निर्वाचित सांसद घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । नेपाली कांग्रेसले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन । सभामुखबारे छलफलका लागि कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको छ । दिउँसो सवा ४ बजे उम्मेदवारहरूको सूची प्रकाशन हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सभामुख चयनका लागि भोलि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । प्राप्त प्रस्तावलाई प्रस्तावकले बैठकमा पेस गरेपछि समर्थन गर्ने दलका तर्फबाट सदस्यहरूले समर्थन गर्नेछन् । एक मात्र प्रस्ताव परेको अवस्थामा सभामुख चयन निर्विरोध हुनेछ । मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ । कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ ।