सत्तारुढ दल मन्त्रीको नाम टुङ्गो लगाउँदै, यी हुन् चर्चामा रहेका नाम

१ बर्ष अघि

२0७९ माघ ३ मंगलवार

सत्तारुढ दल मन्त्रीको नाम टुङ्गो लगाउँदै, यी हुन् चर्चामा रहेका नाम

काठमाण्डौ ( भागबण्डाको टुङ्गो लागेसँगै सत्तारुढ दलहरु मन्त्रीको नाम टुङ्गो लगाउन बिहानदेखि छलफलमा छन् ।

आज दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ । त्यही अनुसार दलहरुले मन्त्रीको टुङ्गो लगाउन छलफललाई तीव्र पारेका छन् ।

दलहरुबीच भएको सहमति अनुसार एमालेले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादीले प्रधानमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

एमालेबाट विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने चर्चा छ । एमालेको भागमा परेको आठमध्ये चार जना यसअघि नै मन्त्री बनिसकेका छन् ।

यस्तै, माओवादी केन्द्रबाट रेखा शर्मा, अमनलाल मोदी र सुदन किराँती मन्त्री बन्ने भएका छन् । यस्तै, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने चर्चा छ ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले शिशिर खनाल र डोलप्रसाद अर्याललाई मन्त्री बनाउने तयारी गरेको छ ।

डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्य मन्त्री बन्ने चर्चा छ । थपिएका मन्त्रीहरुले आज दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिने तयारी छ । गएको पुस ११ गते प्रचण्डले प्रधानमन्त्रीको शपथ लिएकै दिन एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई समेटेर आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।