भूराजनीतिक स्वार्थले रोकियो नेपाल टेलिकमको फाइभजी परीक्षण, टेलिकममा हुवावे हाबी हुँदा अमेरिका रुष्ट

१ बर्ष अघि

२0७९ पुष २९ शुक्रबार

भूराजनीतिक स्वार्थले रोकियो नेपाल टेलिकमको फाइभजी परीक्षण, टेलिकममा हुवावे हाबी हुँदा अमेरिका रुष्ट

अमेरिकाले चिनियाँ प्रविधि नछोडे ‘रेड लाइन’ मा राख्ने चेतावनी दिएपछि नेपाल टेलिकमको फाइभजी परीक्षण रोकिएको छ।

डेटा सुरक्षामा गम्भीर प्रश्न उठाउँदै चिनियाँ प्रविधि प्रयोग नगर्न चेतावनी दिएपछि टेलिकमको फाइभजी परीक्षण रोकिएको हो।टेलिकमले नेपालमा फाइभजीका लागि चिनियाँ दूरसंचार कम्पनी हुवावेको प्रविधि तथा प्राविधिक प्रयोग गरिरहेको छ।

चिनियाँ कम्पनीको प्रविधिले नेपालको मात्रै नभएर अमेरिकी सूचना पनि बेइजिङ पुग्ने संशय जाहेर गर्दै अमेरिकाले नेपाल टेलिकमलाई पटकपटक फाइभजीबाट चिनियाँ कम्पनी हटाउन अनेक दबाब दिँदै आएको छ। त्यही दबाबका कारण पुस १७ गते गर्ने भनिएको फाइभजीको परीक्षण एकाएक रोकिएको थियो।

‘फोरजी अपग्रेड गर्दा हुवावे प्रयोग गरेकै कारण यहाँको सबै सूचना वेइजिङ पुगिरहेको छ। यो गम्भीर विषय हो,’ अमेरिकी दूतावासबाट गएका उच्च कुटनीतिज्ञले संचार मन्त्रालयका अधिकारीहरुलाई भनेका थिए, ‘तपाईँहरुले जुनसुकै प्रविधि प्रयोग गर्नुस्। तर अहिलेकै प्रविधि प्रयोग गरेर फाइभजी अगाडि बढाउनुभयो भने हामीले गम्भीर रुपमा लिन्छौं।’ दूतावासबाट आएको यो दबाबपछि तयारी नपुगेको भन्दै टेलिकमले फाइभजी परीक्षण रोकेको स्रोतले बतायो।