एमालेलाई नागरिक उन्मुक्तिको साथ, मुख्यमन्त्री बन्दै राजेन्द्र रावल

१ बर्ष अघि

२0७९ पुष २६ मंगलवार

एमालेलाई नागरिक उन्मुक्तिको साथ, मुख्यमन्त्री बन्दै राजेन्द्र रावल

कञ्चनपुर। सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले सत्तारुढ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।

कुनै पनि सरकारलाई समर्थन नगर्ने अडानमा रहेको नागरिक उन्मुक्ति पार्टीले अन्ततः हालको सत्ता साझेदार गठबन्धनलाई समर्थन गर्ने भएको हो। 

‘केन्द्रमा सत्तारुढ गठबन्धनलाई समर्थन गरेर विश्वासको मत दिने निर्णय गरेका छौं, प्रदेशमा पनि यस्तै हुन्छ,’ नागरिक उन्मुक्ति पार्टीका एक सांसदले भने, ‘अहिलेको गठबन्धनबाट बाहिरिए माग सम्बोधन हुने अवस्था छैन, आश्वासन पाएका छौं, सम्बोधनका लागि दबाब दिइरहन्छौं ।’

माग सम्बोधन नभएसम्म सरकारमा नगइ प्रतिपक्षमा बस्ने निर्णय भएको उनले बताए। नागरिक उन्मुक्ति पार्टीले तीन माग अघि सारेको छ। पार्टीका संरक्षक रेशम चौधरी लगायत जेलमा रहेकाहरुलाई रिहा, ५८ जनामाथि लगाइएको मुद्दा खारेज र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उन्मुक्तिको माग छ।

यो संगै सुदूरपश्चिममा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने निश्चित भएको छ। सत्तारुढ गठबन्धनको भागबण्डामा एमाले र माओवादीले केन्द्र प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरिसकेका छन्।

नागरिक उन्मुक्तिको साथले एमाले नेतृत्वको गठबन्धन सुदूरपश्चिममा सुविधाजनक बहुमतमा छ। प्रदेश सभामा सत्ता साझेदार दलको पक्षमा नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरेर कूल २९ सांसद छन्।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि लागि २७ सांसद आवश्यक पर्दछन्।  प्रदेश सभामा सबैभन्दा बढि नेपाली कांग्रेससंग १९, नेकपा एकीकृत समाजवादी ४ र एक जना स्वतन्त्र सांसद छन्।

सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक शक्ति नागरिक उन्मुक्तिको समर्थनले एमालेको नेतृत्वमा बहुमत सरकार बन्ने भएको हो। प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि पुस २७ भित्र दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन्।

नेकपा एमालेका राजेन्द्रसिंह रावलले सम्भव भएसम्म आजै नभए भोली बिहान मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्।