संसदमा ओलीको सम्बोधन– ‘अब सबै मिलेर काम गरौँ, सरकार बनाउने र ढाल्ने खेलमा नलागौँ’

१ बर्ष अघि

२0७९ पुष २५ सोमबार

संसदमा ओलीको सम्बोधन– ‘अब सबै मिलेर काम गरौँ, सरकार बनाउने र ढाल्ने खेलमा नलागौँ’

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई अवसरसँगै धेरै चुनौती पनि रहेको बताउनुभएको  छ । 

प्रतिनिधि सभामा सम्बोधन गर्दै ओलीले अहिले देशको अर्थतन्त्र धेरै नै समस्यामा रहेको भन्दै सुझबुझपूर्ण ढङ्गले काम गर्नुपर्ने बताउनुभयो । अर्थतन्त्र धेरै गम्भीर अवस्थामा रहेको, राजस्वको सङ्कलन धेरै वर्षपछि ऋणात्मक अवस्थामा रहेको,  महँगी बढेको, आयात डरलाग्दो र निर्यात टिठलाग्दो अवस्थामा रहेको लगायतका समस्या समाधान गर्नुपर्ने दायित्व रहेको ओलीको भनाइ छ । 

प्रधानमन्त्री प्रचण्डले भोलि मङ्गलवार विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको भन्दै ओलीले सरकार र प्रचण्डलाई बधाई दिनुभयो । ओलीले अहिले सहज परिस्थिति नभएकाले प्रचण्ड नेतृत्वको सरकारले निकै धेरै मेहनत गर्नुपर्ने बताउनुभयो । देशले नयाँ परिवर्तन खोजेको सङ्केत चुनावअघि नै देखिएको भन्दै ओलीले नयाँ दल र सांसदले पनि सांसद बन्नकै लागि नभएर नागरिकको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘देशका लागि सँगै काम गरौँ, लेट्स वर्क टुगेदर ।’ 

सरकार बनाउने र ढाल्ने खेलमा नलाग्न र देश निर्माणको बाटोमा लाग्न उहाँले दल र नेताहरूलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले यो सरकारले लोकतन्त्रको रक्षा, संवर्द्धन र सुदृढीकरणका लागि काम गर्ने बताउनुभयो ।