सुदूरपश्चिममा पहिलो चरण रावल मुख्यमन्त्री, खगराजको समर्थन

१ बर्ष अघि

२0७९ पुष २५ सोमबार

सुदूरपश्चिममा पहिलो चरण रावल मुख्यमन्त्री, खगराजको समर्थन

कञ्चनपुर। सत्ता गठबन्धनले सातवटै प्रदेशको भागबन्डा टुंगो लगाएका छन्। जसअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आलोपालो गर्ने भएका छन्।

पहिलो चरण प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने गरी शीर्ष तहमा सहमति भएको छ। सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पदमा दाबी गरेका थिए।

गठबन्धनबाट पहिलो कार्यकाल प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने सहमति भएको माओवादी केन्द्रका सांसद ओमविक्रम भाट ९सरल० ले बताए।

‘सहमतिअनुसार सुदूरपश्चिममा दोस्रो चरणको नेतृत्व माओवादीले नै गर्ने हो, त्यसकारण सामाजिक सञ्जालको रोइलो बन्द गरौं’, उनले सञ्जालमै लेखेका छन्, ‘बरु चुनावी सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदै छ, त्यसलाई सदुपयोग गर्न र सफल कसरी हुने त्यसका लागि अहिलेदेखि नै गृहकार्य थालौं।’

यो सहमितसँगै माओवादी केन्द्रका खगराज भट्ट पहिलो कार्यकालमै मुख्यमन्त्री बन्नबाट रोकिने छन्। भट्ट माओवादी सुदूरपश्चिमका पुराना नेता हुन। 

सशस्त्र द्वन्द्व छाडेर माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि भट्टले डडेल्धुरामा पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव लडे। तर ०६४, ०७० र ०७४ का निर्वाचनमा डडेल्धुरामा देउवासँग उनी हारे। यसपटक कांग्रेससँगको गठबन्धनबाट उनै भट्ट प्रतिनिधिसभा क्षेत्र देउवालाई छाडेर प्रदेशमा झरेका थिए। कहिल्यै सार्वजनिक पदमा अवसर नपाएका भट्ट प्रदेश सांसद पनि चुनिए।

उनी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने गरी प्रदेशमा झरेका थिए। चुनावपछि माओवादीले कांग्रेसको साथ छाडेर एमालेसँग गठबन्धन ग¥र्यो। संघदेखि प्रदेशसम्म राजनीतिक समीकरण उलटफेर भयो। 

एमाले नेतृत्वको गठबन्धनबाट पहिलो कार्यकालमै मुख्यमन्त्री बन्न उनले निकै दौडधुप गरे, तर सफल हुन सकेनन्। 

अहिले भने उनले केन्द्रमा भएको सहमतिप्रति समर्थन जनाएका छन्। 

‘गठबन्धनका शीर्ष नेताहरूले सर्वसम्मतिका आधारमा गरेको भागबन्डाको निर्णयप्रति पूर्ण समर्थन छ’, भट्टले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टी नेतृत्वले अन्तिमसम्म प्रयास गर्दा पनि पहिलो चरण हाम्रो भागमा नपरेको कुरालाई अन्यथा लिनु हुँदैन। अब प्रभावकारी सरकार निर्माण र कार्यसम्पादन,सशक्त पार्टी निर्माण र सुदृढ जनसम्बन्ध को बाटोमा लागौं।’

गठबन्धनको भागबन्डाअनुसार नेकपा एमालेले पहिलो कार्यकाल प्रदेश सरकारको नेतृत्व गर्ने छ। सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्ति पार्टीले पाउने गरी सहमति भएको छ।

सत्तारुढ गठबन्धनबाट सुदूरपश्चिमको पहिलो कार्यकालको मुख्यमन्त्रीको दाबेदार एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई मानिएको छ। नागरिक उन्मुक्तिले गठबन्धनमा खटपट नगरे सहमतिअनुसार पहिलो कार्यकालको मुख्यमन्त्री रावल बन्ने निश्चित छ।

गठबन्धनमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पहिलो कार्यकाल एमालेले गर्ने सहमति भएको रावल बताउँछन्। ‘भागबन्डाको डिटेल आएको छैन, एमालेले पहिलो कार्यकालको प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित हो’, उनले भने, ‘आज भोलिमा निर्णय आइपुग्छ, धैर्यता गर्न आग्रह गर्दछु।’