जीटुजी’ मलको पहिलो र्‍याक रक्सौल आइपुग्यो

१ बर्ष अघि

२0७९ पुष २५ सोमबार

जीटुजी’ मलको पहिलो र्‍याक रक्सौल आइपुग्यो

पर्सा ।नेपाल सरकारले भारतसँग ‘जीटुजी’ प्रक्रियाबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल बोकेर पहिलो रेल्वे र्‍याक आइपुगेको छ । २ हजार ५ सय १० मेट्रिक टन मल बोकेको पहिलो रेल्वे र्‍याक वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे स्टेसनमा शुक्रबार बिहान आइपुगेको हो ।

कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र प्रसाद चौलागाईका अनुसार कोलकाता बन्दरगाहबाट चलेको उक्त रेल्वे र्‍याक शनिबार बिहान करिब ७ बजे रक्सौल रेल्वे स्टेसन आइपुगेको हो । अब रक्सौलबाट ट्रकमा ढुवानी गरी उक्त मल वीरगन्जसम्म ल्याइने छ ।
कुल ३० हजार मेट्रिक टन मलमध्ये २५ हजार ५ सय मेट्रिक टन रक्सौल वा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आउन सक्ने उनले बताए । ‘हाललाई पहिलो र्‍याक रक्सौल रेल्वे स्टेसनमा आए पनि दोश्रो वा त्यसपछिको र्‍याक सिर्सिया सुक्खा बन्दरगाहमा पनि आउन सक्छ,’ उनले भने, ‘वीरगन्ज आएको मलमध्ये ११ हजार ५ सय मेट्रिक टन मल वीरगन्ज प्रादेशिक कार्यालयले पाउने छ, त्यसपछि भैरहवा प्रादेशिक कार्यालयलाई १० हजार र बिराटनगर प्रादेशिक कार्यालयलाई ४ हजार ५ सय मेट्रिक टन ट्रकमा ढुवानी गरी पठाइने छ ।’ बाँकी मल कोलकाताबाट सोझै बिराटनर पुर्‍याइँदै छ ।

भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनी ९आरसीएफ० ले तेश्रो मुलुकबाट खरिद गरी कोलकाता बन्दरगाह हुँदै उक्त मल नेपाल ल्याउँदै छ । ढुवानीकर्ताले ३५ दिनभित्र सबै मल नेपाललाई बुझाउने तालिका रहे पनि निरन्तर यसै गतिमा रेलमा मल आइरहने हो भने योभन्दा कम समय लाग्ने चौलागाई बताउँछन् ।

‘जी टु जी’ को यो मल गहुँबालीका लागि केही हदसम्म उपयोगी हुने उनले बताए । पहाडी जिल्लाहरुमा ढिलो गरी गहुँ छर्ने गरिएकाले ती जिल्लाको गहुँबालीका लागि यो मल उपयोगी हुने उनले बताए ।