संविधान प्रदत्त अधिकार कसैले खोस्न सक्दैन ः सांसद ठगुन्ना

५ बर्ष अघि

२0७५ आश्विन ३0 मंगलवार

संविधान प्रदत्त अधिकार कसैले खोस्न सक्दैन ः सांसद ठगुन्ना

दृष्टीकोण समाचार, असोज ३० दार्चुला । दार्चुला जिल्लाबाट निर्वाचित संघिय सरकारका सांसद गणेशसिह ठगुन्नाले संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने बताउनु भएको छ । २०७५ सालको बडा दशै तथा दिपावलीको अवसरमा दार्चुला उद्योग बाणिज्य संघले अयोजना गरेको सुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै सांसद ठगुन्नाले यस्तो बताउनु भएको हो ।
दशै तिहारको अवसरमा गृह जिल्लाको भ्रमणमा रहेका सांसद ठगुन्नाले पछिल्लो समय दार्चुला जिल्लाका केही स्थानीय तहहरुमा स्थानीय सरकारले वडा अध्यक्षहरुको संविधान प्रदत्त हकअधिकारहरु विभिन्न गाउँसभाको बैठकबाटै निर्णय गरी अधिकार कटौती गरेको सन्दर्भमा यस्तो बताएको हो । उहाँले भन्नुभयो ‘नेपाल एउटै राज्य हो, अधिकार मात्रै तीन तहका सरकारहरुमा विकेन्द्रीत गरिएका हुन् तर योजना सिफारिस देखि उपभोक्ता समिति गठन गर्ने अधिकार वडा अध्यक्षहरुको भएकोमा व्याँस गाउँपालिकामा गाउँसभाले निर्णय गरी वडा अध्यक्षको ठाउँमा गाउँ कार्यपालिकाका सदस्यहरुले योजना सम्झौता देखि उपभोक्ता समिति गठन गरिएको सुनिएको छ । त्यो संविधान विपरित कार्य हो । यस्ता गतिविधि तत्काल बन्दहुनु पर्र्छ । ’ अर्को प्रसंगमा बोल्दै संसद ठगुन्नाले सरकारले ल्याएका नीतिहरु कार्यान्वयन गर्ने सन्दर्भमा खास गरी कार्य चुस्तता नदेखाउने कर्मचारीहरुको काम नरहेको बताए । यसका लागि स्थानीय देखि प्रदेश र केन्द्रीय सरकारका प्रतिनिधीहरुले बढी ध्यान दिएर समन्वय सहकार्य गरी जिल्लाको विकासमा एकजुट हुनु पर्ने बताएका छन् । साथै चुनाव लड्दा विभिन्न राजनीतिक पार्टीबाट जनप्रतिनिधी निर्वाचित भएको भएपनि जनादेश पाईसकेपछि अब सबै जनप्रतिनिधीहरु सबै जनताका भएको बताए । 
कार्यक्रममा बोल्दै प्रदेश सभाका सांसद गेल्बुसिह बोहराले भाषणमा भनेको कुरा व्यवहारमा उतार्न सकेमा मात्रै विकास हुने बताएका छन् । आफुले बेला बेला यो कुरालाई लागु गर्ने गरेको र प्रदेश सरकार गठन भएको छोटो समयमा महत्वपुर्ण विभिन्न विधेयकहरु लागु गरेको बताउनु भयो । साथै छिट्टै प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमहरु लागु गर्ने बताएका छन् । 
प्रदेश सभा सांसद मानबहादुर धामीले दार्चुला जिल्लामा करोडौँ बजेट विनियोजन भएको बताएका छन् । प्रदेश सरकारको गौरबको योजनाका रुपमा दार्चुलामा सडक र विद्युत्त बन्न लागेको उनले बताए । साथै अझै नीति निर्माणकै क्रममा रहेकोले जनताले सोचे जतीको विकास भइ नसकेको र पाँच बर्ष भित्र दार्चुला जिल्लाको विकासको गति उच्च भईसक्ने बताएका छन् ।
दार्चुला उद्योग बाणिज्य संघले दशै, तिहार तथा छट पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो । उद्योग बाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की, विभिन्न गाउँपालिकाका अध्यक्ष वडा अध्यक्ष प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख एवं विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।