भारतले १० करोड १७ लाखमा यी तीन परियोजना बनाइदिने

१ बर्ष अघि

२0७९ पुष २१ बिहीबार

भारतले १० करोड १७ लाखमा यी तीन परियोजना बनाइदिने

काठमाडौं – भारत सरकारको सहयोगअन्तर्गत निर्माण हुने तीन परियोजनाहरूमा समझदारी भएको छ ।

भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी क्षेत्रसँग सम्बन्धित तीन वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउन भारतीय राजदूतावास र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको थियोे ।

उदयपुर जिल्लामा श्री जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण, सोलुखुम्बु जिल्लाको मान्गोङ्गा थेन्चोक छोलिङ्ग ध्यान केन्द्रको निर्माण र धादिङमा लिस्नेखोला टिकासुङदाङ चेतझार्लाङ खानेपानी परियोजनाको निर्माण समेत गरी यी तीन परियोजनाहरू कूल अनुमानित नेरु। १० करोड १७ लाख लागतमा कार्यान्वयनमा ल्याइनेछ ।

उल्लिखित तीन परियोजनाहरूको निर्माणले स्थानीय समुदायका लागि राम्रो शिक्षा, स्वास्थ्य सुविधा तथा सुरक्षित खानेपानी उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने विश्वास भारतीय राजदूतावासले विज्ञप्तिमार्फत गरेको छ ।

सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ । स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टीभीटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सात वटा प्रदेशमा ४७६ वटा परियोजना सम्पन्न भइसकेका छन् ।