जो कसैसँग एकता, सहकार्य र गठबन्धन हुन सक्छः जसपा नेता

१ बर्ष अघि

२0७९ पुष २0 बुधबार

जो कसैसँग एकता, सहकार्य र गठबन्धन हुन सक्छः जसपा नेता

काठमाडौं, । जनता समाजवादी पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवले आफ्नो पार्टीले सरकारमा जान खुट्टा नउचालेको बताएका छन् ।
‘भरखरै हाम्रो पार्टीको राजनीतिक समितिमा सरकारमा सहभागिताबारे बृहत् छलफल भएको छ । साझा न्यूनतम कार्यक्रम निर्माणमा हाम्रो पार्टीका तर्फबाट केन्द्रीय कार्यकारिणी समितिका सदस्य रकम चेमजोङ जानुभएको छ । कार्यक्रममा हाम्रा एजेन्डा कसरी समावेश हुन्छन्, त्यस आधारमा छलफल गरेर सरकारमा जाने वा नजाने निर्णय हुन्छ,’ पार्टीले भागबन्डामा कुनै सर्त नराखेको पनि उनले दाबी गरे । यादवले भने, ‘साझा न्यूनतम कार्यक्रम चित्तबुझ्दो आयो भने ससर्त सम्मानजनक रुपमा सरकारमा जाने हो । आएन भने नजाने हो । गठबन्धनसँग उपप्रधानमन्त्री र कति मन्त्रालय भन्ने छलफल त्यसपछि मात्र हुन्छ ।’
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सँग तपाईंहरुको पार्टी एकीकरण हुन लागेको हो भन्ने प्रश्नमा यादवले भने, ‘राजनीतिक समितिको बैठकले एकता, सहकार्य र गठबन्धनलाई खुला गरेको छ । तर कम्युनिस्टहरु मिलिरहेका छन् भन्ने कुरामा हाम्रो सरोकार रहेन । तर नीति, विचार र कार्यक्रम मिल्ने विभिन्न व्यक्ति, राजनीतिक दल र संगठनसँग एकता, सहकार्य र गठबन्धन गर्न कुनै आपत्ति छैन ।’


बीआरआईका विषयमा तत्काल टिप्पणी नगर्ने पनि उनले औंल्याए । यादवले भने, ‘मुलुक र जनताको हित अनि समृद्धिका लागि हुने कुनै पनि काममा हाम्रो समर्थन रहन्छ ।’