दार्चुलासहित सुदूरपश्चिममा आज पुसे १५ त्यार, घिउमा बनाइएका परिकार खाएर मनाइँदै

१ बर्ष अघि

२0७९ पुष १५ शुक्रबार

दार्चुलासहित सुदूरपश्चिममा आज पुसे १५ त्यार, घिउमा बनाइएका परिकार खाएर मनाइँदै

दार्चुला । पुस १५ को दिन घिउ तथा तेलमा तारेर पकाइएको खानेकुरा खाने गरिन्छ । आज दार्चुलासहित सुदूरपश्चिम प्रदेशमा पनि घिउ तथा तेलमा बनाइएको विभिन्न परिकार खाएर पुसे १५ मनाइँदै छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तथा तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमुल र डोटेली खानाका मिठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ । कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फुर्तिलो हुने र तागत बढ्ने किंवदन्ती छ ।

पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने र रातपनि ठूलो हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो राख्न चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको हो । आजको दिन वनभोज जाने चलन पनि छ । तर पछिल्लो समय यो चलन बिस्तारै हराउँदै गएको छ ।


पुस १५ गतेको रातलाई वर्षभरिकै सबैभन्दा लामो रात पनि मानिन्छ । यो दिन रातभरी लोककथामा आधारित किम्बदन्ती ९आानइबातै० सुन्ने सुनाउने, रातभरी जाग्राम बसेर दुई पटक खाना खाने चलन पनि छ । पुस १५ गतेपछि दिन बिस्तारै लम्बिँदै जाने जनविश्वास छ ।

यसैबिच गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार तमु ल्होसारु पर्व मनाउँदैछन् । ल्होु को अर्थ वर्ष र सारु को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसारु भनिएको हो ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवार भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व छ ।

आज गुरुङ समुदायले काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गर्दै छन् । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक भेषभुषामा सजिएर सहभागी हुनेछन् भने गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले गुरुङ समुदायको पर्व तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।