सांसदकै अगाडि क्याम्पस प्रमुख कुटिए

५ बर्ष अघि

२0७५ आश्विन २९ सोमबार

सांसदकै अगाडि क्याम्पस प्रमुख कुटिए

दृष्टिकोण समाचार  २९ जाजरकोट – नलगाड नगरपालिकामा रहेको नलगाड क्याम्पसका प्रमुख कालीबहादुर पुनमाथि हातपात भएको छ । त्रिभुवन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक नारायणबहादुर सिंहले क्याम्पस प्रमुख पुनमाथि हातपात गर्नुभएको हो ।क्याम्पस प्रमुखमा पुन नियुक्त हुनुभन्दा अघि सिंहले क्याम्पसको संयोजकको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो  । पुन गएको मंसिरदेखि क्याम्पस प्रमुखमा नियुक्त हुनु भएको थियो ।सामुदायिक क्याम्पसको रुपमा ६ वर्ष अघि यो क्याम्पस स्थापना भएको थियो । क्याम्पस संचालक समितिको अनौपचारिक बैठक बसिरहेको अवस्थामा विवाद हुँदा सिंहले पुनलाई हातपात गर्नुभएको थियो ।पूर्वप्रधानाध्यापक सिंहलाई क्याम्पसमा उपप्रध्यापक बनाउने र उनकै भाइका छोरालाई लेखापाल बनाउने विषयमा आफूले अस्वीकार गरेपछि विवाद भएको क्याम्पस प्रमुख पुनले बताउनु भयो ।त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर क्याम्पसमा शिक्षा शास्त्रमा स्नातक तहमा पठन पाठन भैरहेको छ । छलफलमा सहभागी एक सदस्यका अनुसार आफू अनुकुलको निर्णय नहुने भएपछि पुर्वप्रधानाध्यापक सिंहले क्याम्पस प्रमुखलाई विभिन्न लान्छाना तथा आरोप लगाउन थालेका थिए ।क्याम्पस प्रमुख पुनले सोही कुरा मोबाइलमा रेकर्ड गर्न खोजेपछि सिंहले पुनलाई हातपात गरेका थिए । हातपातबाट क्याम्पस प्रमुख पुनको ज्याकेट च्यातिएको छ । आफूलाई हातपात गर्ने सिंहलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिएको पुनले बताउनुभयो । क्याम्पस संचालक समितिको अध्यक्ष प्रदेशसभा सदस्य समेत रहनुभएका गणेशप्रसाद सिंह हुनुहुन्छ । सांसद सिंहले आफू भएकै बेला भएको घटना सार्वजनिक नगर्न क्याम्पस प्रमुख पुनलाई दबाब दिनुभएको थियो ।  प्रदेशसभा सदस्य सिंहले कार्तिक ९ गते क्याम्पस संचालक समितिको बैठक बसेर विवाद टुङ्ग्याउने भनेपछि आफूहरुले कुनै कारबाही अघि नबढाएको जिल्ला प्रहरी प्रमुख रविन्द्र सिंहले बताउनुभयो । सामान्य विवाद मात्र भएको भन्ने आफूले जानकारी पाएको उहाँले बताउनुभयो ।