सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, प्रचण्डको अस्थिर चरित्र उदाङ्गियो शेखर कोइराला

१ बर्ष अघि

२0७९ पुष १२ मंगलवार

सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, प्रचण्डको अस्थिर चरित्र उदाङ्गियो  शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको बताएका छन् ।
कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि सोमबार अपराह्न एक विज्ञप्ति जारीगर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले भने, ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, हामी थप सशक्त हुन्छौं ।’
कोइरालाले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई र शुभकामना समेत दिएका छन् । ‘संसदबाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ । संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन रु हाम्रो अगाडि यो प्रश्न गम्भीर रूपमा अगाडि आएको छ । हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सबै आम नेपाली माझ दिनुपर्छ भन्ने मान्यता म राख्छु,’ कोइरालाले भनेका छन् ।
साथै उनले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको टिप्पणी गरे । उनले भने ‘कांग्रेस संसदको सबैभन्दा ठुलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको छ । गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको छ । हामी बीच रहेको सिद्धान्त भन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ ।’