ओलीले विष्णु पौडेलबाहेक नाम चलेका नेता किन प्रचण्ड सरकारमा पठाएनन्

१ बर्ष अघि

२0७९ पुष १२ मंगलवार

ओलीले विष्णु पौडेलबाहेक नाम चलेका नेता किन प्रचण्ड सरकारमा पठाएनन्

काठमाडौं – एमाले वर्तमान सरकारको सबैभन्दा ठूलो घटक हो । उसले राष्ट्रपति र सभामुख तथा प्रधानमन्त्रीमा आलोपालो गर्ने गरी प्रचण्डलाई समर्थन गरेको हो ।

एमाले अध्यक्ष केपी ओलीले विष्णु पौडेलबाहेक सबै नयाँ सांसदलाई सरकारमा पठाएका छन् । एमालेमा मन्त्रीका आकांक्षी चर्चित नेताहरु हुँदा पनि पौडेलबाहेक तीनजना नयाँ पठाएका छन् ।

यसमा ओलीको चतुर्याइँ देखिएको छ । प्रचण्डले आफू प्रधानमन्त्री बनेर नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाएर विवादमा परिसकेका छन् । श्रेष्ठले आफूलाई प्रधानमन्त्री बन्न गुण लगाएको बुझाई प्रचण्डको छ ।

तर, पार्टीभित्र भने यसले रडाको मच्चाएको छ । माओवादीमा अहिले सबैभन्दा बलिया वर्षमान पुन देखिएका छन् । पुनकै कारण कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड ओलीसँग मिलेका हुन् ।


सहमतिअनुसार प्रचण्ड साढे दुई वर्ष प्रधानमन्त्री हुनेछन् । त्यसपछि उनले ओलीलाई छाड्नुपर्ने हुन्छ । त्यसबेला ओली निकै बलिया हुनेछन् । राष्ट्रपति आफ्नै, प्रधानमन्त्री आफैं अनि सभामुख पनि आफैं राख्ने गरी ओलीले गृहकार्य अघि बढाएको बताइन्छ ।

ओलीले सभामुखमा पृथ्वी सुब्बा गुरुङ र राष्ट्रपतिमा सुवास नेम्वाङलाई बनाउने तयारी गरेका छन् । यी दुई नेता यस्ता हुन् जो पदमा पुगेपछि सजिलै छाड्ने खालका छैनन् ।

त्यसमाथि आफू प्रधानमन्त्री बनेपछि पार्टी एकताको नाममा प्रचण्डलाई कक्रक्क बनाउने स्रोत बताउँछ । अहिले एमालेका चर्चित नेताहरु सरकार बाहिरै बस्ने, साढे दुई वर्षपछि ओली प्रधानमन्त्री हुँदा अहिलेका मन्त्रीहरुलाई फिर्ता हुने नेताहरु बताउँछन् ।

कांग्रेसमा सुझबुझ भएका नेता नहुँदा र ढिला निर्णय गर्ने बानीका कारण यसपटक केपी ओलीले बाजी मारेका हुन् । कांग्रेसमा होस्ल्यांगे नेताहरुको झुन्डकै कारण ओली एक स्टेप अगाडि बढेर नेपालको राजनीति नै आफ्नो हातमा लिन सफल भएका हुन् ।

यस्ता चतुर खेलाडीले प्रचण्डलाई अब बस भन्दा बस्ने, उठ भन्दा उठ्ने बनाउने धेरैको अनुमान छ । त्यसको सुरुवात शपथ लिँदा दौरा सुरुवाल लगाएर भइसकेको छ ।