निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्छु गृहमन्त्री लामिछाने

१ बर्ष अघि

२0७९ पुष ११ सोमबार

निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्छु गृहमन्त्री लामिछाने

काठमाण्डौ – नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

आज सोमवार शपथ ग्रहणपछि पदभार सम्हाल्ने क्रममा गृहमन्त्री लामिछानेले पहिलो निर्णयका रूपमा निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताउनुभएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । चार वर्षदेखि यस प्रकरणमा अनुसन्धान भइरहे पनि केही प्रगति हुन सकेको छैन । रासस

उहाँले सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ गृह मन्त्रालय भएको बताउँदै आफूलाई यही मन्त्रालय रोजेको प्रतिक्रिया दिनुभयो । आफूले सञ्चारकर्मीका रूपमा काम गर्दा गृह मन्त्रालयको बारेमा सबैभन्दा धेरै गुनासो आउने गरेको उहाँले सुनाउनुभयो । आफूले स्वतन्त्ररूपमा कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । स्वतन्त्र भएर त्यो विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो ।