प्रचण्डसँग माधव नेपालको सम्बन्ध विच्छेद, प्रचण्डको सरकारमा सहभागी नहुने

१ बर्ष अघि

२0७९ पुष ११ सोमबार

प्रचण्डसँग माधव नेपालको सम्बन्ध विच्छेद, प्रचण्डको सरकारमा सहभागी नहुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता जगन्‍नाथ खतिवडाले जानकारी दिए ।

प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरुले सहमति गरेर शीतलनिवासमा पठाएपछि नेकपा एसले प्रचण्डसँगको सहकार्य विच्छेद गरेको हो ।

दिउँसोमात्रै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डले आफूसँग सल्लाह नै नगरी नेकपा एमालेसँग सहकार्यका लागि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गएको आरोप लगाएका थिए ।

प्रचण्डकै कारण पनि माधव नेपाल एमालेबाट टाढिएका थिए । अहिले भने प्रचण्डले नेपालसँग सहकार्य नै नगरी ओली निवासमा गएर नयाँ सरकारको सहकार्य गरेका हुन् ।