गठबन्धन टिकाउने विकल्पबारे देउवा परामर्शमा

१ बर्ष अघि

२0७९ पुष १0 आईतवार

गठबन्धन टिकाउने विकल्पबारे देउवा परामर्शमा

काठमाडौं ।  पहिलो कार्यकालको प्रधानमन्त्री को भन्ने विवादले सत्ता गठबन्धन संकटमा पर्न थालेपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निकटस्थ नेतासँग पार्टीमा छलफल शुरु गरेका छन् । गठबन्धनको बैठक बस्नुअघि देउवाले पार्टीभित्र आन्तरिक छलफल गरेका हुन् । 

संविधानको धारा ७६ (२) बमोजिम को प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्न राष्ट्रपति विद्या भण्डारीले दिएको समय सकिनै लाग्दा आइतवार गठबन्धनको बैठक बस्दैछ । गठबन्धनको बैठकअघि देउवाले पार्टीमा छलफल गरेका हुन् । 


देउवा निकट कांग्रेसका एक केन्द्रीय सदस्यले दुईवटा विकल्पबारे पार्टीमा छलफल चलिरहेको बताए । ‘२०७४ सालमा एमाले र माओवादीबीच भएको सत्तासाझेदारीलाई आधार मानेर सहमति गरौँ भन्ने कांग्रेसको प्रस्ताव हो’ कांग्रेसका प्रभावशाली  नेताले भने, ‘गठबन्धन टुट्ने अबस्थामा पहिलो कार्यकालको प्रधानमन्त्री प्रचण्डलाई छाडेर राष्ट्रपति र प्रधानमन्त्री हामीले लिनुपर्छ भन्ने दोस्रो विकल्पमा पनि छलफल भइरहेको छ ।’

संविधानकोे धारा ७६ (३)को विकल्पमा भने कांग्रेसले सोचिनसकेको ती नेताले बताए । ‘अहिले हामी गठबन्धन कसरी जोगाएर सरकार बनाउने भन्ने विकल्पमा छौं, भोलि विश्वासको मत प्राप्त गर्ने आधार नबनी तेस्रो विकल्पमा जाँदैनौं’ उनले भने । 


 
सहमतिको प्रयासका लागि देउवाले हिजो पनि पार्टीका नेतालाई प्रचण्डसँग छलफलमा सहभागि गराएका थिए । शनिवार राति गठबन्धनको बैठकपछि नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले आइतवार सहमति हुने दावी गरेका थिए । 

कांग्रेससँग सहमति जु्टन नसकिरहेको बेला माओवादीले एमालेसँग पनि अनौपचारिक ढंगले समानान्तर छलफल गरिरहेको छ ।