पहिलो कार्यकालको प्रधानमन्त्री को भन्ने विवादले गठबन्धन विघटनको संघारमा

१ बर्ष अघि

२0७९ पुष १0 आईतवार

पहिलो कार्यकालको प्रधानमन्त्री को भन्ने विवादले गठबन्धन विघटनको संघारमा

काठमाडौ ।  ​पहिलो कार्यकालको प्रधानमन्त्री को भन्ने विवादले कांग्रेस नेतृत्वको सत्ता गठबन्धन विघटन नजिक पुगेको छ । नेकपा माओवादी केन्द्रले पहिलो कार्यकालको प्रधानमन्त्रीमा दावी नछाडेपछि गठबन्धन विघटन नजिक पुगेको हो । 


कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो कार्यकालको प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिन अस्वीकार गरेपछि गठबन्धन संकटमा परेको हो । शुक्रवार साँझ अबेरसम्म भएको छलफलमा कुनै सहमति जुटन सकेको छैन ।


नेपाली कांग्रेस विगतको सहमतिबाट पछि हट्दा गठबन्धनमा संकट आएको माओवादीका एक नेताले बताए । ‘चुनावपछिको पहिलो कार्यकालको प्रधानमन्त्री प्रचण्ड बन्ने भन्ने गठबन्धनको भद्र सहमति हो, कांग्रेसले बेइमानी गर्न खोज्यो भने गठबन्धन रहँदैन’ माओवादीका ती नेताले भने  ।

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धन भित्रबाटै सहमति खोज्ने प्रयास जारी रहेको बताए । संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीमा नाम सिफारिस गर्न राष्ट्रपति विद्या भण्डारीले दिएको समय आज सकिँदैछ । 

सहमतिको प्रयास स्वरूप भन्दै आइतवार पनि गठबन्धनको बैठक बस्दैछ । कांग्रेसले पहिलो कार्यकालको प्रधानमन्त्री अस्वीकार गरे एमालेसँग सत्ता साझेदारी गर्ने माओवादीको तयारी छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि २०७८ जेठमा कांग्रेस नेतृत्वमा गठबन्धन बनेको थियो । मंसिरमा सम्पन्न प्रतिनिधि सभा चुनावमा गठबन्धनले सहकार्य गरेको थियो ।