दुहुँमा स्वास्थ्य उपकरण र शैक्षिक सामग्री हस्तान्तरण

१ बर्ष अघि

२0७९ पुष ८ शुक्रबार

दुहुँमा  स्वास्थ्य उपकरण र शैक्षिक सामग्री हस्तान्तरण

दार्चुला : सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनल नेपाल र दार्चुला विकास संगठनले दुहुँ गाउँपालिकाका विद्यालय र स्वास्थ्य संस्थाहरुमा सामग्री सहयोग गरेको छ । दुहुँ गाउँपालिका वडा नम्बर ३ मा रहेको लटिनाथ आधारभूत विद्यालय धामीबोहरीगाउँका विद्यार्थीहरुलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरिएको छ । बिहीवार एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई पोसाक र शैक्षिक सामग्री वितरण गरिएको हो । गाउँपालिकाको साझेदारीमा जिएनआइले धामीबोहरीगाउँका ४९ जना विद्यार्थीलाई विद्यालय पोसाक, जुत्ता, मोजा, कापी, पेन्सिल लगायत शैक्षिक सामग्री सहयोग गरेको कार्यक्रम संयोजक खडक बोहराले जानकारी दिए ।

यस्तै गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सिआरडीएस नेपालको साझेदारीमा दुहुँ गाउँपालिका–३ लटिनाथ आवि धामी बोहरीगाउँको २ कोठे विद्यालय भवन निर्माण भइरहेको छ । जिएनआइको १० लाख सहयोग र दुहुँ गाउँपालिकाको १५ लाख लागतमा २ कोठे विद्यालय भवन निर्माण भइरहेको हो । उक्त निर्माणाधिन विद्यालय भवनको कार्य प्रगतिको समेत निरीक्षण अनुगमन गरिएको कार्यक्रम संयोजक बोहराले बताए । गुड नेवर्स इन्टरनेशनल नेपालले दुहुँ गाउँपालिकाका ३ सय बालबालिकालाई सहयोग गरेको जनाइएको छ ।

यस्तै साझेदारी संस्थाका रुपमा रहेको दार्चुला विकास संगठनले दुहुँ गाउँपालिका वडा नम्बर २, ४ र ५ का स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य उपकरण सहयोग गरेको छ । वडा नम्बर ४ को धारी स्वास्थ्य चौकी र वडा नम्बर २ को हिकिला स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्रीका साथै उपकरण हस्तान्तरण गरिएको जनस्वास्थ्य सहायक माधव धामीले बताए । वडा नम्बर ५ को मखमली गाउँघर क्लिनिकलाई व्यवस्थापकीय सामग्री हस्तान्तरण गरिएको छ । यस्तै दुहुँ गाउँपालिका–२ स्थितको कम्दा आविमा खानेपानीको व्यवस्थापन गरिएको छ । 
शैक्षिक सामग्री र स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ती बम, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भागा बडाल, वडा नम्बर ३ का अध्यक्ष देब बहादुर बम, वडा नम्बर ४ का अध्यक्ष कृष्ण सिंह लोथ्याल, शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बम, स्वास्थ्य शाखा प्रमुख दिलिप सिंह महरा, गुड नेवर्स इन्टरनेशनल नेपाल दार्चुलाका कार्यक्रम संयोजक खडक बोहरा, अफिसर टिका चौधरी, जिएनआइ÷सीआरडीएस का शिक्षा तथा संरक्षण अधिकृत उदय बोहरा, दार्चुला विकास संगठन÷जिएनआइका जनस्वास्थ्य सहायक माधव धामीको सहभागिता रहेको थियो ।