सरकार गठनका लागि दलहरू छलफलमा

१ बर्ष अघि

२0७९ पुष ६ बुधबार

सरकार गठनका लागि दलहरू छलफलमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिन भित्रमा सरकार गठनका लागि आह्वान गरेपछि दलहरू छलफलमा जुटेका छन् । नेताहरू पार्टी भित्र र बाहिर छलफलमा जुटेका हुन् । हिजो बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टीले भने सरकार निर्माण, संसदीय दलको नेता छनोटलगायतका बारेमा आज निर्णय गर्ने भएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ सरकारको नेतृत्व दावी गरेपछि गठबन्धन निरन्तर रहन्छ वा भत्किन्छ भन्ने बारेमा पनि विभिन्न टिप्पणी भइरहेका छन् ।

प्रतिनिधि सभाका दुई सय ७५ जना सांसदमध्ये बहुमतका लागि कम्तिमा एक सय ३८ जनाको समर्थन चाहिन्छ। सरकार गठनका लागि ८९ जना आफ्नै पार्टीका सांसद रहेको काँग्रेसलाई थप ४९ जना सांसदको समर्थन आवश्यक हुन्छ ।

दोस्रो ठूलो दल नेकपा एमालेले पनि बहुमत जुटाउने गरि दलहरूसँग छलफल गरिरहेको छ । माओवादी केन्द्र र नेकपा एसलाई का‌ंग्रेससँगको गठबन्धनबाट आफुतिर तान्न सके सजिलै बहुमत पुर्‍याउन सकिने आँकलनका साथ एमालेल छलफल गरिरहेको हो । एमालेसँग ७८ जना सा‌ंसद छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताभित्र सरकार गठनका लागि आइतबार आह्वान गर्नुभएको हो ।