चुनावमा अमेरिका र चीन लगायत शक्तिको चलखेल भयो माओवादी केन्द्रका अध्यक्ष ः प्रचण्ड

१ बर्ष अघि

२0७९ पुष ६ बुधबार

चुनावमा अमेरिका र चीन लगायत शक्तिको चलखेल भयो माओवादी केन्द्रका अध्यक्ष ः प्रचण्ड

काठमाडौ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले हालै सम्पन्न निर्वाचनमा विदेशी चलखेल भएको दाबी गरेका छन् । उनले नेपालको भूराजनीतिकमा अमेरिका र चीनको स्वार्थ रहेको समेत बताए ।
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनावमा कसलाई हराउने, कसलाई जिताउनेसम्मको चलखेल भएको दाबी गरे । विदेशी चलखेल बढेको सन्दर्भमा पार्टी सचेततापूर्वक अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

प्रचण्डले पछिल्लो समय माओवादीको परिचय हराउँदै गएको भन्दै चिन्ता समेत व्यक्त गरे । माओवादीलाई युनिक आइडेन्टिटी कायम गराउन पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा प्रचण्डले अप्ठ्यारो अवस्थामा पनि प्रेस सेन्टर गतिशील रहेको बताए ।

माओवादी शान्ति प्रकृयामा आएपछि एक अर्कालाई विश्वास गर्न छाडेको बताउँदै प्रचण्डले नेताहरूको बीचमा एकता नरहेको कारण चुनावमा कमजोर भएको बताए । ‘पार्टीमै एकले अर्कालाई हराउनमा खुशी माने’, उनले भने, मधेसमा संगठन नभएको होइन तर त्यहाँ एक अर्कालाई हराउने काम गरे ।’

जिल्ला र प्रदेशबाट आएको प्रतिवेदन अध्ययन गर्दा नेताहरू कसै न कसैबाट प्रयोग भएको देखिएको बताउँदै अध्यक्ष प्रचण्डले गुटबन्दी र अराजकताले पार्टी महान तथा गौरवशाली हुन नसक्ने बताए । पार्टीका सबै नेता नुन खाएको कुखुरा जस्तै भएको टिप्पणी गर्दै उनले प्रतिक्रियावादीलाई क्रियाकलाप परास्त गर्न सक्नुपर्ने बताए ।