दार्चुलामा भारतविरुद्ध नाराबाजी, भूमि फिर्ता र झुटा मुद्दा खारेजको माग

१ बर्ष अघि

२0७९ पुष ४ सोमबार

दार्चुलामा भारतविरुद्ध नाराबाजी, भूमि फिर्ता र झुटा मुद्दा खारेजको माग

दार्चुला। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दार्चुला सदरमुकाम खलंगामा सोमबार प्रदर्शन गरेको छ। भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको विरोध र ७ जना नेपालीमाथि लगाएको झुटा मुद्दा फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो। नेपाललाई असर पुग्ने गरी निर्माण गरिएको तटबन्धको संरचना हटाउन भारतले सहमति जनाएपनि अझै कार्यान्वयन गरेको छैन्।  नेपाल कम्युनिष्ट पार्टीका अनुसार यसैबीचमा नेपाली नागरिकहरुले ढुंगा प्रहार गर्दा तटबन्ध निर्माणमा संलग्न मजदुर घाइते भएको भन्दै भारतीय पक्षले मुद्दा दर्ता गरेको छ। भारतले सीमा क्षेत्रका नेपाली नागरिकमाथि ज्यादती गरेको बताउदै उक्त पार्टीका कार्यकर्ता लामो समयदेखि विरोध गरिरहेका छन्।  भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ताको मागसमेत उनीहरुले गरेका छन्। नेपाली प्रशासन भारतसामु निरीह भएको बताउदै उनीहरुले नाराबाजीसमेत गरेका छन्।