बैतडीको पाटन नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

१ बर्ष अघि

२0७९ मंसिर २९ बिहीबार

बैतडीको पाटन नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

बैतडी ।  बैतडीको पाटन नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । पौष ३ गते बाट नगरपालिकाको आयोजनामा विभिन्न ठाउँमा नसर्ने रोगको  उपचार सेवा प्रदान गर्न स्वास्थ्य शिवर सञ्चालन हुने भएको हो  ।

अहिले प्रथम चरणमा नगरभित्रका वडा नं १, ५, र ७ मा रहेका स्वास्थ्य संस्थाहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने पाटन नगरपालिकाका स्वास्थ्य  संयोजक मदन सिंह महराले  जानकारी दिए ।

सरुवा रोग भन्दा पनि मधुमेह, मुटु सम्बन्धि र क्यानसर जस्ता नसर्ने रोगहरु पछिल्लो समय बढदै गएकाले नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य परीक्षण गरेर औषधि वितरण गर्न नगरपालिकाले १० ओटै वडामा निशुल्क स्वास्थ्य शिविर  सञ्चालनको  तयारी  गरेको  उनले  बताए ।

पाटन नगरपालिकाले एकसूचना जारी गरेर प्रथम चरणमा वडा नं १ सकारमा रहेको प्रसुतिकेन्द्रमा  पौष ५ गते, पाटन ५ मा रहेको बसन्तपूर स्वास्थ्यचौकीमा पौष ७गते  र पाटन ७  को कैलपाल स्वास्थ्य चौकीमा पौष ३ गते स्वास्थ्य शिविर लाग्ने जनाएको छ ।

शिविरमा खानपिन तथा जीवनशैलीका कारण लाग्ने एक अर्कामा नसर्ने रोगहरुको परीक्षण, उपचार,परार्मश सेवा पदान गरिने स्वास्थ्य संयोजक महराले बताए । दम तथा फोक्सो सम्बन्धि ,उच्च रक्तचाप, तथा मुटु सम्बन्धि रोगहरु, मधुमेह,बाथ जोर्नि दुखाई, स्तन र पाठेघरको क्यानसर, मानसिक स्वास्थ्य सम्बन्धि सेवा प्रदान हुने  नगरपालिकाले  जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

शिविरमा रोग अनुसारको  औषधि समेत वितरण गरिने बताइएको छ । परीक्षण  तथा उपचार सेवा लिन नगरपालिकाले  सबैलाई आग्रह समेत गरेको  छ ।

पछिल्लो समय खानपिन तथा जीवनशैलीका कारण नसर्ने रोगहरु बढि रहेकाले स्वस्थकर खानपिनमा ध्यान दिन आवश्यक रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।