फेरियो सुदूरपश्चिमको राजनीति प्रदेशसभामा दुई दल बाहिरिए, दुई भित्रिए

१ बर्ष अघि

२0७९ मंसिर २९ बिहीबार

फेरियो सुदूरपश्चिमको राजनीति प्रदेशसभामा दुई दल बाहिरिए, दुई भित्रिए

कञ्चनपुर। सुदूरपश्चिमको प्रदेशसभाले पूर्णता पाएको छ। योसँगै प्रदेशसभाको अंकगणित ०७४ को निर्वाचनभन्दा फेरिएको छ।  यसपटक सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा गरेर ६ दलले प्रतिनिधित्व गर्दै छन्। 

०७४ को चुनावपछि प्रदेशसभामा अटाएका जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा भने यसपटक बाहिरिएका छन्। उनीहरूले न प्रत्यक्षमा सिट जिते न समानुपातिकबाटै सांसद चयन गर्न पाए। 

यसपटक लोसपा र जसपा प्रदेशसभा बाहिर रहँदा स्थानीय तहको निर्वाचनअघि खुलेको नागरिक उन्मुक्ति पार्टी र राप्रपा सुदूरपश्चिम प्रदेशसभामा पहिलोपटक प्रवेश गर्दै छन्।

यसपटक प्रदेशसभामा स्वतन्त्र हैसियतका सांसद पनि देखिनेछन्। डडेल्धुरामा सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालाई हराउँदै स्वतन्त्र डा. ताराप्रसाद जोशी प्रदेश सांसद भएका छन्। 

कूल ५३ सदस्यीय प्रदेशसभामा प्रत्यक्षतर्फ ३२ र समानुपातिक २१ सांसदले प्रतिनिधित्व गर्छन्। दोस्रो कार्यकालमा दलहरूको संख्यात्मक संरचनामा पनि ठूलो उतारचढाव आएको छ।

नेपाली कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको छ। यहाँ कांग्रेसले प्रत्यक्षतर्फ १२ र समानुपातिक ७ गरेर कूल १९ सिट पाएको छ। 

सत्ता गठबन्धनबाट कांग्रेसले प्रत्यक्षतर्फ १८ सिटमा प्रतिस्पर्धा गरेको थियो। ०७४ मा कांग्रेस प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ ८ गरेर कूल १२ सांसदसहित प्रदेशसभामा तेस्रो दलको हैसियतमा थियो।

उता पहिलो कार्यकालको सबैभन्दा ठूलो दल नेकपा एमाले भने यसपटक १० सांसदसहित तेस्रो दलमा खुम्चिएको छ। प्रदेशसभामा एमालेबाट प्रत्यक्षतर्फ ३ र समानुपातिकमा ७ सांसदले प्रतिनिधित्व गर्दै छन्।

०७४ मा वाम गठबन्धनसहित चुनावमा होमिएको एमालेका प्रत्यक्षमा १७ र समानुपातिकमा ८ गरेर २५ सांसद थिए।

यसपटक नेकपा माओवादी केन्द्रका प्रत्यक्षमा ८ र समानुपातिकमा ३ गरेर प्रदेशसभामा ११ सांसद छन्। अघिल्लो प्रदेशसभामा माओवादी केन्द्रका १४ सांसद थिए। नागरिक उन्मुक्ति पार्टीले पहिलोपटक सुदूरपश्चिम प्रदेशसभामा ७ सांसद पठाएको छ।

उसका ५ सांसदले प्रत्यक्षतर्फ जितेका हुन् भने २ सांसद समानुपातिकतर्फ चयन भएका हुन्। नेकपा एकीकृत समाजवादीका ३ जनाले प्रत्यक्ष जित्दा एक समानुपातिक सहित ४ जनाले प्रदेश सांसदको सिट सुरक्षित गरेका छन्। 

प्रत्यक्षमा एउटा पनि सिट नजितेको राप्रपा पनि यसपटक एक जना समानुपातिक सांसदसहित सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्दै छ।