पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजनालाई सरकारले प्राथमिकता दिएको छ प्रधानमन्त्री देउवा

१ बर्ष अघि

२0७९ मंसिर २३ शुक्रबार

पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजनालाई सरकारले प्राथमिकता दिएको छ प्रधानमन्त्री देउवा

धनगढी ।  प्रधानमन्त्री शेरबहादुर देउवाले देशको विकास र समृद्धिसँग जोडिएको पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । धनगढीमा आज सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजनाका लागि निर्माण कम्पनीले अनुमतिपत्र ९लाइसेन्स० लिइसकेकाले आयोजनाको निर्माण प्रक्रिया चाडै अघि बढ्ने विश्वास ब्यक्त गरे ।

प्रधानमन्त्री देउवाले जलविद्युत आयोजनासँगै रानी जमरा कुलरिया तथा महाकाली सिचाई आयोजना लगायतका योजनालाई सरकारले प्राथमिकता दिएर काम अघि बढाइरहेको उल्लेख गर्दै ती आयोजना निर्माणपछि सुदूरपश्चिम प्रदेशमा समृद्धि आउने बताए  ।

प्राकृतिक सम्भावनाको पहिचान गरी सुदूरपश्चिम प्रदेशमा कृषि, पर्यटन, उद्योग, व्यापार मार्फत आर्थिक समृद्धि ल्याउन सकिने बताउनु हुँदै उनले  विकासका लागि प्रदेश सरकार र स्थानीय तहका बीच समन्वय गरि अघि बढ्नु पर्नेमा जोड दिए  ।

प्रधानमन्त्री देउवाले कोरोनाले थलिएको उद्योग व्यवसाय क्षेत्रको पुनरुत्थानका लागि सरकारले लागिपरेको उल्लेख गर्दै यस क्षेत्रलाई  आर्थिक हवका रुपमा विकास गर्न जरुरी रहेको बताए  ।

सुदूरपश्चिमको कृषि, पर्यटन, आर्थिक, सामाजिक विकासका लागि महोत्सवले थप टेवा पुग्ने बताउनु हुँदै उहाँले सङ्घले अघि सारेका मागप्रति सरकार गम्भीर रहेको बताए  । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले उद्योगी व्यवसायीले उठाएका माग सम्बोधन गर्नका लागी सरकार गम्भीर रहेको बताए  ।

उनले  सामाजिक सुरक्षा कोषको दायरा बढाउँदै रोजगारीको सृजना गर्न, वैदेशिक रोजगारीबाट फर्केका युवा जनशक्तिलाई पुनः रोजगारीमा जोड्नेतर्फ सरकार लागि परेको बताए  ।