चीन छोडेर जापानमा बसिरहेका छन् अलिबाबाका संस्थापक ज्याक मा

१ बर्ष अघि

२0७९ मंसिर १५ बिहीबार

चीन छोडेर जापानमा बसिरहेका छन् अलिबाबाका संस्थापक ज्याक मा

एजेन्सी । चिनियाँ अर्बपति तथा इ कमर्स साइट अलिबाबाका संस्थापक ज्याक मा जापानमा लुकेर बसेको तथ्य सार्वजनिक भएको छ। चीनमा सुरक्षा नभएको भन्दै उनी परिवारसहित जापानमा लुकिरहेको द गार्डियनले लेखेको छ।

दुई वर्षअघि सांघाईमा भएको सम्मेलनमा चिनियाँ नियामक निकायहरूले प्रविधि कम्पनीमाथि गर्ने व्यवहारको आलोचना गरेका थिए। ‘एउटा नियम थप्ने हो भने पुराना तीन वटा नियम खारेज हुनुपर्छ। तर अनावश्यक नियम थुपारेर नियम उल्लंघनका लागि राज्यले नै प्रेरित गरिरहेको छ,’ ज्याक माको टिप्पणी थियो।

आविष्कार भनेकै त्रुटि सधार्दै हुने हो भन्ने कुरा चीनको नेतृत्व र नियामक निकायले नबुझेको उनको धारणा  थियो। ‘नियामक निकायदेखि तर्सिएर असल आविष्कार हुन सक्दैन। भविष्यका लागि गरिने आविष्कारलाई पुरातन नियमले बाँध्न मिल्दैन यसबारे सोच्नुपर्छ,’ सम्मेलनमा उनले भनेका थिए।

चीनले प्रविधि कम्पनीलाई निरूत्साहित गर्न खोजेको भन्दै सरकारी नीतिको विरोध गरेपछि राष्ट्रपति सी चिनफिङ उनीप्रति आक्रोशित बनेका थिए।


सरकारी नीतिको विरोध गर्दा आफू असुरक्षित रहेको भन्दै ज्याक मा  चीन बाहिर बस्दै आएका छन्। ६ महिनादेखि ज्याक मा जापानमा बस्दै आएको फाइनान्सियल टाइम्सले मंगलबार खुलासा गरेको द गार्डियनले उल्लेख गरेको छ।

अलिबाबाविरूद्ध नियामक निकाय कठोर भएपछि ज्याक मा आर्जन नै आधा घटेको छ। ५० अर्ब डलरबाट उनको सम्पत्ति २१।७ अर्ब डलर पुगेको छ।

नियामक निकायले  शेयर बजारमा अलिबाबाको ३४ अर्ब बराबरको पैसा रोक्का गरिदिएका छन् भने माको स्वामित्वमा रहेको साउथ चाइना मर्निङ पोस्ट बेच्नका लागि पनि निर्देशन दिएको छ।