दार्चुलामा दश हजार मत बदर, १२ जनाको जमानत जफत

१ बर्ष अघि

२0७९ मंसिर १५ बिहीबार

दार्चुलामा दश हजार मत बदर, १२ जनाको जमानत जफत

दार्चुला । दार्चुलामा प्रतिनिधिसभा निर्वाचन लडेका सात र प्रदेशसभामा लडेका पाँच गरी १२ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिषत मत पनि पुगाउन नसकेपछि उनिहरुको जमानत जफत भएको हो ।

लोकतान्त्रिक बाम गठबन्धन र नेकपा एमालेका उम्मेदवारवाहेक सबैको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्यका उम्मेदवारले उम्मेदवारीको क्रममा १० हजार रुपियाँ धरौटी राखेका थिए । सो धरौटी जोगाउनका लागि उम्मेदवारले सदर मतको १० प्रतिशत भोट प्राप्त गर्नुपर्ने थियो तर प्रतिनिधिसभामा लडेका नौँ मध्ये सात जनाले १० प्रतिशत भोट कटाउन नसकेपछि उनीहरूको धरौटी जफत भएको हो ।


निर्वाचन आयोगका अनुसार दार्चुलामा राप्रपा नेपालका देवबहादुर बमले सबैभन्दा कम १३ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभा सदस्यतर्फ सुदूरपश्चिम प्रदेशमै उम्मेदवारले प्राप्त गरेको सबैभन्दा कम मत पनि यही हो । दार्चुलाबाट राप्रपाका नरेन्द्रसिंह धामीले ३८०, राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्र सिंह धामीले १९८, नेपाल मजदुर किसान पार्टीका विश्वराम दुवालले ७८, नागरिक उन्मुक्ति पार्टीका तारादत्त जोशीले ६५, नेश्नलिष्ट पिपल्स पार्टीका धर्म सिह दयालीले ४७ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रमेश राम लुहारले ४६ मत प्राप्त गर्नुभएको छ । दार्चुलामा प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेशका दिलेन्द्रप्रसाद बडू र पराजित नेकपा एमालेका गणेशसिंह ठगुन्नाबाहेक प्रतिनिधिसभामा लडेका सबै अर्थात सात जना उम्मेदवारको धरौटी जफत भएको हो ।

दार्चुला प्रदेश सभा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार शंकर सिंह धामीले एक हजार ४१८, राप्रपाका चक्र बहादुर बमले ३२७ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नन्दी कामीले ८५ मत प्राप्त गर्नुभयो । उनिहरु तीनै जनाको जमानत जफत भएको छ । प्रदेशसभा क्षेत्र नम्बर १ मा निर्वाचित कांग्रेशका बिक्रमसिंह धामी र पराजित एमालेका हरदेब जोशी बाहेक सबैको धरौटी रकम जफत भएको छ । प्रदेश सभा क्षेत्र नम्बर २ मा राप्रपाका अमर सिह धामीले ३१७ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नाले १७३ मत प्राप्त गर्नुभयो । प्रदेशसभा क्षेत्र नम्बर २ मा पनि निर्वाचित माओबादी केन्द्रका मानबहादुर धामी र पराजित एमालेका रामदत्त जोशी बाहेकका उम्मेदवारको धरौटी रकम जफत भएको छ । दार्चुलामा प्रतक्षतर्फ प्रदेशसभामा नौँ र प्रतिनिधिसभामा नौँ जना गरी १८ उम्मेदवार भएपनि एमाले र गठबन्धनका छ जना उम्मेदवारबाहेक बाँकी साना दल र स्वतन्त्र लडेका १२ जना उम्मेदवारको धरौटी रकम जफत भएको उहाँले बताउनुभयो ।

दश हजार मत बदर
दार्चुलामा प्रतक्ष र सामानुपातिकतर्फका गरी १० हजार २३ मत बदर भएका छन् । प्रतिनिधिसभाको प्रतक्षतर्फ एक हजार ९४० मत बदर भएका छन् । प्रतिनिधिसभा प्रतक्षमा ५७ हजार ६६३ मत खसेकोमा एक हजार ९४० मत बदर र ५५ हजार ७२३ मत सदर भएका हुन् । प्रदेशसभा क्षेत्र नम्बर १ मा ३१ हजार ५४२ मत खसेकोमा ३० हजार ४०८ मत सदर र एक हजार १३४ मत बदर भएका छन् । यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ मा २६ हजार २७२ मत खसेकोमा २५ हजार ५१७ मत सदर र ७५५ मत बदर भएका छन् । दार्चुलामा ८९ हजार १५४ मतदाता रहेकोमा प्रतक्षतर्फ ६५ प्रतिषत मत खसेको थियो ।

प्रतक्षभन्दा समानुपातिक निर्वाचन प्रणालीमा मत बदर बढी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा समानुपातिकमा खसेको कुल मत ५८ हजार ९९१ मध्ये ५६ हजार ५२२ मत सदर र दुई हजार ४६९ मत बदर भएका छन । प्रदेशसभा सामानुपातिकतर्फ कुल खसेको ५८ हजार ८६० मतमध्ये ५५ हजार १३५ मत सदर र तीन हजार ७२५ मत बदर भएका हुन् । निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा बदर मत बढेको उम्मेदवारहरूको गुनासो छ । निर्वाचन आयोगको उदासिनता र उम्मेदवार तथा राजनीतिक दलहरुले समेत मतदाता शिक्षामा ध्यान नदिएका कारण बदर मतको संख्या बढेको पाइएको छ ।