उपेन्द्र यादवको मधेस राजनीति ‘उत्तरार्द्धमा’

१ बर्ष अघि

२0७९ मंसिर १३ मंगलवार

उपेन्द्र यादवको मधेस राजनीति ‘उत्तरार्द्धमा’

काठमाडौँ : नेपालमा १० वर्षे जनयुद्धबाट आएको माओवादी पार्टी र मधेस विद्रोहबाट आएको मधेसी जनअधिकार फोरम पार्टीबीच धेरै समानता थिए । किनकी दुवै पार्टी ठूलो आन्दोलनको भुमरीबाट उदाएका र सिंहदरबारमा नयाँ शासकका रुपमा भित्रिएका थिए ।

माओवादीले जंगल पसेर आर्जन गरेको शक्ति र फोरमले मधेसको सडक तताएर ल्याएको रापताप एउटै थियो । पहिलो संविधानसभापछि दुवै शक्ति बलशाली थिए । माओवादी पहिलो थियो भने मधेसी जनअधिकार फोरम मधेसको शक्तिशाली पार्टी थियो ।


माओवादीको नेतृत्व प्रचण्डले गर्दा मधेसको नेतृत्व उपेन्द्र यादवले गरेका थिए । तर दुवै नेताहरूमा परिवर्तनको भोक बाहिर देखिएपनि भित्र भने केवल सत्ता र शक्तिको भोक थियो । जुन विस्तारै पुरा हुँदै गयो । तर मधेसको समस्या जहाँको त्यही रह्यो ।

प्रचण्ड र उपेन्द्र यादवको राजनीतिले नेपालको शासकीय व्यवस्था प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै संघीयतामा पुग्यो । तर नेताहरु व्यवस्था परिवर्तनसँगै मोटाउँदै गएपनि जनताको अवस्था जस्ताको त्यस्तै रहेको थियो । जसको खुला अवतरण यतिबेला चुनावमा देखिएको छ ।

उपेन्द्र यादवलाई सुरु सुरुमा मधेसका मसीहा भन्ने गरिएको थियो । उनले आह्वान गरेका आन्दोलनमा लाखौँ मधेसीको भीड हुन्थ्यो । तर अहिले त्यो भीड विस्तारै सीके राउतको कब्जामा देखिन्छ । अनि उपेन्द्र यादव निरीह नेताका रुपमा परिचित हुन थालेका छन् ।

यसपटक मधेसका ठूला नेता भनिने उपेन्द्र यादव र राजेन्द्र महतो पराजित भएका छन् । त्यसमा पनि उपेन्द्र यादव पराजित भएको भाष्य स्थापित भएको छ । किनकी उपेन्द्र यादव तिनै व्यक्ति हुन्, जसले आफ्नो शक्ति बढाउनका लागि सुरुमा अशोक राई संघीय समाजवादी पार्टीसँग एकता गरे । पछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिलाई पनि संघीय समाजवादी फोरममा मिलाए।

त्यसपछि महन्थ ठाकुर नेतृत्वको पार्टीसँग एकता गरेर जनता समाजवादी पार्टी बनाए । त्यसबाट पनि महन्थ फूटे । पछि बाबुराम पनि अलग्गिए । मुख्य शक्ति अलग्गिएपछि उपेन्द्र यादव एक्ला नेता रहे । जसको नेतृत्वमा जनता समाजवादी पार्टी जसपा चुनावमा होमियो ।

चुनाव होमिएपछि उपेन्द्र यादवले राम्रै सिट जित्ने अनुमान गरेका थिए । तर उनी आफैँ सीके राउतसँग पराजित भएका छन् । चुनावमा बढी सिट जित्नैका लागि सत्ता गठबन्धन छाडेर एमालेसँग टाँसिएका उनले झन् नमिठो नतिजा हात पारेका छन् ।

गएको चुनावमा लगभग चौथो शक्ति बनेको उपेन्द्रको पार्टी यसपटक सातौ पार्टी हुने पक्का छ । मुश्किलले थ्रेसहोल्ड कटाएको जसपाले जम्मा ७ सिट जितेको छ । त्यसमा पनि अधिकांश आफ्नै बलमा पकड भएका नेताहरुले चुनाव जितेको देखिन्छ ।

यसले अब मधेसमा उपेन्द्र यादवको शक्तिमा ब्रेक लाग्दैछ । उपेन्द्र यादव र महन्थ ठाकुरहरुको लामो समयदेखिको मधेस राजनीति विस्तारै सीके राउततर्फ ढल्किदैछ । यसपटक मधेसबाट उनले जसरी उभार ल्याएका छन् । त्यसले धेरै हदसम्म फरक पार्नेछ ।

उमेरका हिसाबले पनि विस्तारै वृद्ध हुन थालेका उपेन्द्र यादव आउँदो चुनावसम्म लगभग ७० वर्ष पार हुनेछन् । त्यसले अब नेपाली राजनीतिमा युवाहरुको बाहुल्यतामा कमजोरी तुल्याउनेछ । यसकारण पनि यसपटकका उपेन्द्रको हार भनेकै अब उनको मधेस राजनीति ‘उत्तरार्द्धमा’ छ भन्ने देखाइरहेको छ ।

सत्ताका लागि रातारात ‘प्रतिगमनका मतियार’ भनिने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेको तथ्य यसपटकको उपेन्द्र क्षेत्रमा पराजित भएको छ । सत्ता स्वार्थका लागि पहिले एकातिर र ठूलो स्वार्थ हेरेर तुरुन्तै अर्कोतिर मिलिहाल्ने उपेन्द्र प्रवृत्ति पनि यसपटक मधेसमा पराजित भएको छ । यसले उपेन्द्रलाई जति पाठ दिन्छ, त्यसले भोलिको मधेसी राजनीतिक शक्तिलाई झन् ठूलो ऊर्जा दिने पक्का छ ।