सुदूरपश्चिममा गठबन्धनको बहुमत, एमाले तीन सीटमा खुम्चियो

१ बर्ष अघि

२0७९ मंसिर १0 शनिबार

सुदूरपश्चिममा गठबन्धनको बहुमत, एमाले तीन सीटमा खुम्चियो

दार्चुला । सुदूरपश्चिममा बाजुराबाहेक अन्य जिल्लामा प्रत्यक्षतर्फ मतगणना सम्पन्न भएको छ । प्रदेशका प्रत्यक्ष ३० स्थान मध्ये २१ स्थानमा गठबन्धनले जित हात पारेको छ । बाजुराको दुई क्षेत्रको मतपरिणाम आउन बाँकी रहेको छ । समानुपातिक तर्फ पनि बढी सिट गठबन्धनकै आउने संकेत देखिएको छ । 

गएको २०७४ सालको निर्वाचनमा बाम गठबन्धन हुँदा त्यो बेला एमाले र माओवादीको गठबन्धन झण्डै दुई तिहाइ नजिक पुगेको थियो । यो निर्वाचनमा सत्ता गठबन्धनलाई सहज हुने गरी प्रत्यक्ष तर्फ मतदाताहरुले मतदान गरेका छन् । 

प्रत्यक्ष तर्फ गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले सबैभन्दा बढी ११ सीटमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रबाट ८ जनाले जित हासिल गरेका छन् भने नेकपा एकीकृत समाजवादीले २ सिटमा जित हासिल गरेको छ । 

प्रत्यक्ष तर्फ बैतडीबाट  नेपाली कांग्रेसका शिवराज भट्ट, दार्चुलाबाट नेपाली कांग्रेसका विक्रमसिंह धामी, बझाङबाट पृथ्वीबहादुर सिंह र अछामबाट मेघराज खड्का र मानबहादुर रावल विजयी भएका छन् । यस्तै कैलालीबाट नेपाली काँग्रेसका  प्रकाशबहादुर देउवा, प्रकाशबहादुर बम र कमलबहादुर शाह निर्वाचित भएका छन् । कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा र बेलबहादुर राना मगरले चुनाव जितेका छन् ।  

दार्चुलाबाट नेकपा माओवादी केन्द्रका मानबहादुर धामी, बझाङबाट भीमबहादुर भण्डारी, डडेल्धुराबाट खगराज भट्ट,डोटीबाट शिवसिंह ओली र अछामबाट अक्कलबहादुर रावल र झपटबहादुर साउँद निर्वाचित भएका छन् । यस्तै  कैलालीबाट रमेश धामी र  कञ्चनपुरबाट ओमविक्रम भाट विजयी भएका छन् ।  

नेकपा एकिकृत समाजवादीबाट कैलालीबाट दीर्घबहादुर सोडारी र कञ्चनपुरबाट प्रकाश रावल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । 

यो निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभामा भने अहिले सम्मको मत परिणाम अनुसार एमाले तीन सीटमा खुम्चिएको छ । एमालेबाट बैतडीमा सुरेन्द्र पाल, डोटीमा चक्र मल्ल र कञ्चनपुरमा बीरबहादुर थापा विजयी भएका छन् । 

नयाँ पार्टी नागरिक उन्मुक्तिले भने प्रदेश सभा तर्फ ५ सीट जितेको छ । कैलालीमा प्रदेश सभा तर्फ नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी, कैलाश चौधरी, रामेश्वर चौधरी, घनश्याम चौधरी र खुशीराम चौधरी निर्वाचित भएका छन् । डडेल्धुराको एक क्षेत्रमा स्वतन्त्रबाट डा। ताराप्रसाद जोशी निर्वाचित भएका छन् ।