बैतडीबाट एमालेका भण्डारीको ‘ह्याट्रिक’ जित

१ बर्ष अघि

२0७९ मंसिर ८ बिहीबार

बैतडीबाट एमालेका भण्डारीको ‘ह्याट्रिक’ जित

बैतडी –बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका छन् । उनले बैतडीबाट लगातार तेश्रो पटक जितेर ह्याट्रिक गरेका छन् । अहिलेको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर ९विजयसुन्दर०लाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । 

भण्डारीले ३३ हजार ६११ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याए । कुँवरलाई १ हजार ५३१ मतले पछि पार्दै भण्डारीले लगातार तेश्रो पटक जित हात पारेका हुन् । 

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष समेत रहेका भण्डारी २०७० सालको संविधान सभा निर्वाचनमा बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । 

२०७४ सालको संसदीय निर्वाचनमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई पराजित गर्दै बाजी मारेका थिए । त्यो बेलाको निर्वाचनमा माओवादी सहितको गठबन्धनबाट उनी निर्वाचित भएका थिए । कांग्रेसका चन्दलाई उनले ११ हजार २३३ मतान्तरले पराजित गरेका थिए । भण्डारीले ३९ हजार ५२४ मत प्राप्त गरेका थिए । 

२०७९ मा नेकपा माओवादी केन्द्रका कुँवरलाई पराजित गर्दै भण्डारीले तेश्रो पटक जित निकालेका हुन् । तर यो पालिकाको चुनावमा भने उनको मत र मतान्तर दुवै घटेको छ । यसअघि एमालेको सरकारका पाला उनी अर्थ वाणिज्य राज्यमन्त्री समेत भइसकेका छन् ।