सुदूरपश्चिमबाट संघीय संसदमा पुग्ने एक्ली महिला बनिन् रन्जिता

१ बर्ष अघि

२0७९ मंसिर ८ बिहीबार

सुदूरपश्चिमबाट संघीय संसदमा पुग्ने एक्ली महिला बनिन् रन्जिता

धनगढीः प्रतिनिधिसभा निर्वाचन कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठ निर्वाचित भएकी छन्। ३० हजार ४०४ मत ल्याउँदै उनी विजयी भएकी हुन। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी हुन्। 


पराजित रामजनम चौधरीले १८ हजार ८१ मत मात्रै ल्याएका छन्। यो क्षेत्रबाट ०७४ सालको चुनावमा रञ्जिताका श्रीमान् रेशम चौधरी भारी मतान्तरले जितेका थिए। उनी टीकापुर घटनामा दोषि ठहर भएर जेल जीवन बिताइरहेका छन्। रेशम पत्नी रञ्जिता जित निकालेर कैलाली १ मा विरासत जोगाउन सफल भएकी छन्। उनी यसपटक सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला पनि बनेकी छन्।


सुदूरपश्चिमको कञ्चनपुर १ मा बीना मगर, ३ मा निरुदेवी पाल र डोटीमा गौरीकुमारी ओली गरेर ४ महिला मात्रै प्रतिनिधि सभामा उम्मेदवार थिए। जारी अन्तिम मतगणनामा माओवादी केन्द्रकी बीना मगर निकै पछाडि छन्। एमालेकी निरुदेवी पाल र डोटीकी गौरीकुमारी ओली पराजित भएका थिए।