१५ वर्षदेखि मधेसलाई ठगिरहेका उपेन्द्रसँग सप्तरी २ ले लियो बदला

१ बर्ष अघि

२0७९ मंसिर ८ बिहीबार

१५ वर्षदेखि मधेसलाई ठगिरहेका उपेन्द्रसँग सप्तरी २ ले लियो बदला

काठमाडौं । सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् । उनको पराजयसँग मधेसमा एउटा परिवारवाद र अहंकारको अन्त्य भएको छ । मधेसको मसिहा बनेर उपेन्द्रले १५ वर्षदेखि मधेसलाई ठगिरहेका थिए । मधेस र मधेसी जनताको हक अधिकारका लागि भनेर आन्दोलनहरु गराए पनि त्यसको बलमा प्राप्त शक्तिलाई भने उपेन्द्रले सत्तामा जाने माध्यम र व्यक्तिगत, पारिवारिक तथा यादव जातिको मात्रै स्वार्थ पूर्तिमा प्रयोग गरेपछि मधेसी जनताले सप्तरी २ बाट बदला लिएका छन् । सीके राउतलाई मधेसको मसिहा चुनेका छन् । उपेन्द्रमात्रै होइन उनको दल जसपासमेत पतन भएको छ । सीके राउतको जनमत पार्टीले मधेसको नेतृत्व लिने मतपरिणामले देखाएको छ ।

उपेन्द्र पतन हुनुको कारण भनेको उनको अहंकार, परिवारवाद, यादववाद र सत्ता मोह नै भएको विश्लेषकहरुले बताएका छन् । हुन पनि उपेन्द्रलाई मधेसी जनताले परिवर्तन र मधेसका एजेण्डा स्थापित गर्ने मसिहाका रुपमा अनुमोदन गरे पनि उनले त्यसलाई उपयोगमात्रै गरे । जुनसुकै दलको सरकार बने पनि उनी मन्त्री बन्न छुटेनन् । उनको दल सरकारमा सहभागी हुनबाट छुटेन । सरकारमा सहभागी हुँदा उपेन्द्रले मधेसका मुद्दा सम्बोधनका लागि सहकार्य गरिररहेको भने । तर सरकारमा गएपछि आफ्नै झोली भर्न व्यस्त भए । सबै एजेण्डा बिर्सिए । मधेसको जनमतलाई कुल्चिँदै उपेन्द्र काठमाडौंको फोहोरी सत्ता राजनीतिमा चुर्लुम्म डुबे । अहंकारी प्रवृत्ति उनमा देखियो । अवसरहरुमा यादवहरुलाई मात्रै प्राथमिकता दिए । आफ्नै छोरालाई विराटनगरको उपमेयरको उम्मेदवार बनाएर परिवारवादलाई अगाडि बढाउने असफल प्रयास गरे । अन्ततस् १५ वर्षदेखिको यो सिलसिला अब अन्त्य भएको छ । उपेन्द्रको अहंकार ढलेको छ । त्यतिमात्रै होइन उपेन्द्रले नेतृत्व गरेको जसपा नै कमजोर बनेको छ । मधेसी जनताले आफ्नो मसिहा सीके राउतको जनमत पार्टीलाई बनाएका छन् । मधेसी जनतामाथि गरेको घातको फल उपेन्द्रले पाएका छन् । आफूमाथि गरेको घातको मधेसी जनताले बदला लिएका छन् । अब जनमत पार्टीका सीके राउतले मधेसी जनताको भावनालाई कसरी सम्बोधन गर्छन् हेर्न बाँकी छ ।