सुदूरपश्चिम प्रदेशको बजेट कार्यान्वयनमा आएन

५ बर्ष अघि

२0७५ आश्विन २१ आईतवार

सुदूरपश्चिम प्रदेशको बजेट कार्यान्वयनमा आएन

दृष्टीकोण समाचार  असोज २१ कैलाली आर्थिक वर्ष सुरु भएको तीन महिनाको अवधिमा समेत सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वय हुन सकेको छैन ।सरकारले चालु आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको २५ अर्ब ६ करोडभन्दा बढीको बजेट कार्यान्वयनका लागि खाका समेत बन्न सकेको छैन । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आर्थिक वर्ष सुरु भएको तीन महिना बित्नै लाग्दा पनि बजेट कार्यान्वयमा जान नसकेको बताउनुभयो ।उहाँले बजेट कार्यान्वयन गर्ने निकाय, कर्मचारी अभावलगायतका कारण बजेट कार्यान्वयनको चरणमा जान नसकेको जानकारी दिनुभयो । अहिलेसम्म तीन मन्त्रालयले बजेट कार्यान्वयको खाका तयार गरिसकेको र अर्थ मन्त्रालयले स्वीकृति समेत दिइसकेको छ ।एक मन्त्रालयले अझै बजेट कार्यान्वयनको खाका नै तयार पारेको छैन । सबै मन्त्रालयले बजेट कार्यान्वयनको खाका तयार पारिसकेको र प्रदेश सरकारका कार्यालय, विभाग, निर्देशनालय र कर्मचारी पनि आइसकेकोले अब बजेट कार्यान्वयन गर्ने तयारी भइरहेको अर्थमन्त्रालयले जनाएको छ । यस्तै, प्रदेश सरकारले डल्लो बजेट समेत बाँडफाड गर्न सकेको छैन । चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटमा सरकारले बिना शिर्षक झण्डै ३ अर्ब रुपैयाँ राखेको थियो । प्रमुख प्रतिपक्षी दलले डल्लो बजेट नफुटाएको भन्दै सरकारको आलोचना समेत गर्दै आएका छन् ।मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षलाई सँगै राखेर डल्लो बजेट फुटाइने बताए पनि अर्थमन्त्री बोहराले भने उक्त बजेको बाँडफाड गर्दा प्रतिपक्षीसँग कुनै छलफल गर्न आवश्यक नरहेको बताउनुभयो ।उहाँले डल्लो बजेटलाई प्रदेशको विकासमा खर्च गर्ने गरी बाँडफाड गरिने जानकारी दिनुभयो । प्रदेश सरकारले चालु आर्थिक वर्षको दुई महिनामा कुल लक्ष्यको ७ दशमलव ५४ प्रतिशत राजस्व संकलन गरेको जानकारी दिएको छ ।प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक अर्ब २१ करोड ६५ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । दुई महिनाको अवधिमा ९ करोड ७७ लाख ६५ हजार ७ सय १ रुपैयाँ राजश्व संकलन गरिएको अर्थमन्त्री बोहराले जानकारी दिनुभयो ।