मैले झुट बोले राजनीतिबाटै सन्यास लिन्छु ,बडूले एउटै सडकबाट ५२ करोड बजेट कटौती गरे ः ठगुन्ना

१ बर्ष अघि

२0७९ कार्तिक २४ बिहीबार

मैले झुट बोले राजनीतिबाटै सन्यास लिन्छु ,बडूले एउटै सडकबाट ५२ करोड बजेट कटौती गरे ः ठगुन्ना

दार्चुला । नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेशसिह ठगुन्नाले दिलेन्द्र प्रसाद बडू मन्त्री हुँदा एउटै सडकमा ५२ करोड बजेट कटौती गरेको बताउनुभएको छ । मालिकार्जुन गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार ठगुन्नाले जिल्लाको विकास बजेट कटौती गर्नेले जिल्लाको के गरे भनेर प्रश्नसमेत गर्नुभयो ।
महाकाली करिडोरमा आफु हुँदा १ अर्व ३ करोड बजेट हाले उहाँले भन्नुभयो, तर आर्थिक वर्ष ०७८।०७९ मा बडू मन्त्री हुँदा बजेट कटौती गर्यो । अहिले सडकमा ५४ करोड मात्रै बजेट छ । जनताले हेर्न सक्नुहुन्छ, बडूले बजेट कति ल्याए  । रातो किताब हेरौँ उहाँले भन्नुभयो, मैले ढाटेको भए राजनीतिबाटै सन्यास लिन्छु ।
आफुले गर्न नसक्ने तर अरुले गरेको काममा आफुले गरेको भन्दै ठगुन्नाले बडूको कडा आलोचना गर्नुभयो । हिजो (बुधबार) गोकुलेश्वर एयरपोर्टमा गएर बडुले भाषण गरेछन् ठगुन्नाले भन्नुभयो, वर्षौदेखि गौचरन भएको विमानस्थलमा बजेट हालेर अहिले काम भइरहेको छ । ०७० अघिसमम विमानस्थलको हालत के थियो । पहुँचवाला मन्त्री भन्छन् तर जिल्लाको लागि पहुँच भएर के योजना ल्याए उहाँले प्रश्न गर्नुभयो ।
यहाँका सडक निर्माण सबै वडा जोड्ने गरी निर्माण भइरहेको छ । यी सडक सबै वडासम्म जोडिन्छ । हामीले एक घर एक धारा खानेपानी निर्माण भइरहेका छन् । सबै वस्तीमा विद्युतीकरण गर्ने गरी ठेक्का लागेको छ । विकस र सम्बृद्धिको लागि एमाले जिताउनुको विकल्प नरहेको उहाँको भनाई छ ।
फरक प्रसँगमा उहाँले भन्नुभयो, कम्युनिस्ट भन्ने तर काग्रेसका झण्डा बोकेर भोट माग्ने अधिकार माओवादीलाई छैन् । जनता हामीतिर छन् । नेता मात्रै कग्रेसको पछि लागेका छन् । कयौँले कम्युनिस्ट निर्माणको लागि साहद प्राप्त गरे उहाँले भन्नुभयो, अझै केहि माओवादी लगायतका कम्युनिस्टमा छन् भने समयमै एमालेमा आउनुहोस् ।