ओलीजी चुच्चे नक्साको हल्ला छाड्नुस्, आश्रम बनाएर बस्न दिन्छौँः दिलेन्द्र बडू

१ बर्ष अघि

२0७९ कार्तिक २३ बुधबार

ओलीजी चुच्चे नक्साको हल्ला छाड्नुस्, आश्रम बनाएर बस्न दिन्छौँः दिलेन्द्र बडू

दार्चुला । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्र बडूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनाव लड्ने कुनै नैतिक अधिकार नभएको बताएका छन्। दार्चुलामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओली कम्पनीका सबैलाई विश्राम लिन आग्रह गरे। उनले आगामी चुनावपछि संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्ने दाबी गरे।

उनले भने, ‘हामी अग्रगामी शक्तिहरू गठबन्धनमा छौँ। हामीसँग एमालेका इमान्दार नेताहरू पनि साथमा हुनुहुन्छ। ओली कम्पनी संविधान विरोधी शक्तिहरूसँग तालमेल गरिरहेको छ। अहिले पनि संविधान र लोकतन्त्रमाथि खतरा उस्तै छ।’ आगामी निर्वाचनबाट प्रतिगामी शक्तिलाई सदाका लागि बिदा गर्न लाग्न आह्वान गरे। उनले ओलीलाई बालकोटमै आफ्ना सेना राख्न चुनौती दिएका छन्।


ओलीलाई चुनौती दिँदै भने, ‘तपाईँलाई राजनीति गर्ने कुनै नैतिक अधिकार छैन। अब बालकोटमै आफू र आफ्ना सेनाहरूलाई राख्नुस्। आफ्नो कम्पनीको आश्रम स्थल खोल्नुस्। बरु यहाँ अपि हिमालमा आएर हाम्रो आश्रममा ठाउँ दिन्छौँ।’

ओलीले गत साता मात्रै दार्चुला पुगेर नेता बडूलाई चुनाव लड्न नआउन आग्रह गरेका थिए। बडूले केही काम नगरेकाले काठमाडौंमा आराम गर्न भनेका थिए। उनले भने, ‘उहाँले मैले ल्याएको पुललाई आफूले बनाएको भन्नुभयो। मैले नै बनाएको मञ्चमा बसेर काम गरेर भन्नुभयो। त्यसैले म भन्छु तपाईँले राजनीतिक गर्ने नैतिक अधिकार गुमाइसक्नुभयो ।’