मिचिएको भूमिको माटो लिएर देशव्यापी चुनावी दौडमा होमीए ओली

१ बर्ष अघि

२0७९ कार्तिक १८ शुक्रबार

मिचिएको भूमिको माटो लिएर देशव्यापी चुनावी दौडमा होमीए ओली

 दार्चुला । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुला पुगेर भारतले अतिक्रमण गरेको भूमि कालापानी, लिपुलेक लिम्पीयाधुराको माटो र ढुङ्गा लिएर चुनावी प्रचार प्रसार अभियानमा होमिएका छन् । शुक्रबार दार्चुला जिल्ला सदरमुकाम खलंगामा नेकपा एमालेको देशव्यापी चुनावी प्रचार प्रसार अभियानको उद्घाटन गर्दै सोही कार्यक्रममा व्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने अतिक्रमित भूमिको माटो बुझार्र्ईएको हो ।
छिमेकी राष्ट्र भारतले अतिक्रमण गरेको नेपाली भूमि दार्चुला जिल्लाबाट एमालेले चुनावी प्रचार प्रसार अभियानको थालनी गरेको छ । देशव्यापी चुनावी दौडमा रहेको नेकपा एमालेले गठबन्धनको सामना गर्नु पर्नेछ ।
के छन् एमालेका मुद्धा !
राष्ट्रियताको सवालमा खरो रुपमा बोल्न सक्ने नेताको रुपमा पहिचान बनाएका एमाले अध्यक्ष ओलीले दार्चुलाबाट चुनावी अभियान थालनी गर्नुको पछाडी दुईवटा उद्देश्य रहेको औल्याए ।  
१. राष्ट्रियताको सवाल
दुईवटा ठुला छिमेकी राष्ट्र भारत र चीनको सीमा जोड्ने हिमाली जिल्ला दार्चुलाको झण्डै चार सय किमी क्षेत्रफल नेपाली भू–भाग अतिक्रमण गरेको छ । छिमेकी राष्ट्रहरुसँगको मित्रवत व्यवहार र नेपालको परराष्ट्र नीति अनुसार नेकपा एमालेको प्रमुख मुद्दाको रुपमा राष्ट्रियता र भूमिको रक्षा प्रमुख रहेको छ । ओलीले दार्चुला पुगेर चिनसँगको नाका पनि विस्तार गर्ने बताउनु भएको छ । अतिक्रमित भूमि प्रयोग गरी चीनसँग पनि नाका विस्तार हुनु पर्ने ओलीको भनाई छ । 
२. विकास निर्माण 
दार्चुला जिल्लामा रहेका तुइन र ट्युवको जोखिम पुर्ण यात्रा विस्थापित गर्दै सीमा क्षेत्रमा झोलुङ्गे पुल निर्माण र मोटरेबल पुल निर्माणका लागि आफु प्रधानमन्त्री हुँदा भारतको उत्तराखण्ड सरकारसँग सम्झौता गरी काम थालनी गरेको ओलीको तर्क छ ।
महाकाली नदीको कटानबाट दार्चुला जिल्ला सदरमुकाममा भएको क्षती कम गर्न तटबन्ध निर्माणको काम गर्नु पर्ने जस्ता थुप्रै सम्भावना ओलीले औल्याउनु भयो ।