दार्चुलामा ठगुन्ना र बडूबीच प्रतिस्पर्धा

१ बर्ष अघि

२0७९ कार्तिक १५ मंगलवार

दार्चुलामा ठगुन्ना र बडूबीच प्रतिस्पर्धा

दार्चुला, । एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा जितका लागि गठबन्धन र नेकपा एमाले बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । दार्चुलामा गठबन्धनका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री काङ्ग्रेस नेता दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका तर्फबाट पूर्व मन्त्री तथा एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना चुनावी मैदानमा छन् ।

दार्चुलामा गत वैशाखमा सम्पन्न स्थानीय तहको नतिजा हेर्दा एमालेको पकड बलियो छ । पालिका निर्वाचनमा नेपाली काङ्ग्रेससँग गठबन्धन हुँदा माओवादी केन्द्रले चार गाउँपालिकामा जित हासिल गरेको छ । एमालेले दुई नगरपालिकासहित पाँच पालिकामा जित हात पार्दा काङ्ग्रेसले कुनै पनि स्थानीय तह अध्यक्ष वा प्रमुखमा जित हात पार्न सकेको छैन । २०४८ सालमा निर्वाचित भए यता बडूले पटक पटक सत्तामा बस्ने अवसर पाउँदै आउनुभएको छ । हालसम्म पाँच वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा समेत देखिने गरी जिल्लाका लागि काम गर्न नसकेको उहाँमाथि आरोप लाग्दै आएको छ ।

२०४८ र २०५६ मा बडूले दार्चुलाबाट प्रत्यक्ष निर्वाचन जित्नुभएको थियो भने २०७४ सालमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । २०५१ सालमा एमालेका स्वर्गीय नेता प्रेमसिंह धामीसँग बडू पराजित हुनुभएको थियो । मन्त्री बडू र पूर्व मन्त्री ठगुन्ना २०६४ सालको संविधानसभा निर्वाचन देखि चुनाव लड्दै आउनुभएको छ । २०६४ सालको निर्वाचनमा बडू र ठगुन्ना दुवै जना माओवादी नेता लक्ष्मणदत्त जोशीसँग पराजित हुनुभएको थियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बडूलाई पराजित गर्दै ठगुन्नाले संसद्को यात्रा सुरु गर्नुभयो । 

२०७४ सालको निर्वाचनमा बडूले समानुपातिकमा आफ्नो सिट सुरक्षित गरेपछि ठगुन्नासँग काङ्ग्रेसका विक्रमसिंह धामीले प्रतिस्पर्धा गर्नुभयो । बाम गठबन्धनका साझा उम्मेदवार ठगुन्नाले धामीलाई छ हजार ७६५ मतान्तरले पराजित गरेर दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । यसअघि दुई पटक चुनाव लडेका बडू र ठगुन्नाबीच तेस्रो पटक प्रतिस्पर्धा भइरहेको छ । यस पटक ठगुन्नाले चुनाव जिते उहाँको ‘ह्याट्रिक’ हुनेछ, बडूले चुनाव जिते पनि दार्चुलाबाट तेस्रो पटक प्रत्यक्ष चुनाव जितेर प्रतिनिधि सभा छिर्नुहुनेछ । ७० वर्षीय बडू र ५३ वर्षीय ठगुन्नाबीच यस पटकको चुनाव निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

यस्तो छ अङ्कगणित

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा दार्चुलाबाट एमाले उम्मेदवार गणेशसिंह ठगुन्नाले माओवादी केन्द्रको सहयोगमा २८ हजार ९९८ मत प्राप्त गर्नुभएको थियो । काँग्रेसका उम्मेदवार विक्रमसिंह धामीले ठगुन्नाको भन्दा छ हजार ७६५ कम अर्थात् २२ हजार २३३ मत प्राप्त गर्नुभएको थियो । अहिले गठबन्धनको समीकरण फेरिए पनि स्थानीय तह निर्वाचन २०७९ को नतिजा हेर्दा गठबन्धनभन्दा एमाले एक्लै बलियो देखिएको छ  । 

नौ स्थानीय तहमध्ये दुई नगरपालिकासहित पाँच पालिकाको प्रमुख एवं अध्यक्षमा एमालेले जित हात पारेको छ भने एक स्थानीय तहमा उपाध्यक्षसहित बहुमत हासिल गरेको छ । माओवादी केन्द्रले चार स्थानीय तहको नेतृत्व पाउँदा काङ्ग्रेस शून्य छ । जिल्लाका ९ स्थानीय तहका वडा अध्यक्षले पाएको मत हेर्दा गठबन्धनभन्दा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरूले सात सय सात मत बढी पाएका छन् । जिल्लामा नेकपा एमालेले वडा अध्यक्षतर्फ २९ हजार ३८५ मत पाएको थियो । यस्तै नेपाली काँग्रेसले २१ हजार २५४, नेकपा माओवादी केन्द्रले सात हजार ३०६ र नेकपा एकीकृत समाजवादीले ११८ मत पाएका थिए।  गठबन्धनले कुल २८ हजार ६७८ मत पाएको थियो । 

स्थानीय तहको निर्वाचनमा प्रमुखको मतलाई मात्र हेर्ने हो भने शैल्यशिखरमा एमालेले पाँच हजार ५०९ र गठबन्धनले चार हजार ६६२ मत पाएको छ । महाकालीमा एमालेले पाँच हजार तीन मत र गठबन्धनले तीन हजार ८८७ मत पाएको छ । मालिकार्जुन गाउँपालिकामा एमालेले चार हजार ३४ र गठबन्धनले तीन हजार ३२२ मत पाएको छ । नौगाडमा एमालेले तीन हजार २७७ र गठबन्धनले तीन हजार ७८३ मत पाएको छ । लेकममा गठबन्धनले दुई हजार ९७६ र एमालेले दुई हजार ४४५ मत पाएको छ । दुहुँमा गठबन्धनले दुई हजार ७९६ र एमालेले दुई हजार ८८६ मत पाएको छ । व्यासमा गठबन्धनले दुई हजार ३९६ र एमालेले दुई हजार ९४९ मत पाएको छ । 

मार्मामा गठबन्धनले तीन हजार ६१६ र एमालेले दुई हजार ९१४ मत पाएको छ । अपिहिमालमा गठबन्धनले दुई हजार ३१२ र एमालेले एक हजार ३८५ मत पाएको छ । समग्रमा काङ्ग्रेस, माओवादीसहितको गठबन्धनले प्रमुख पदमा २९ हजार ७५० मत पाउँदा एमाले एक्लैले ३० हजार ४०२ मत प्राप्त गरेको छ । 

चुनाव जित्ने दुवैको दाबी

आसन्न निर्वाचनमा आफूले जित्ने दाबी एमाले र गठबन्धन दुवैको छ । मन्त्री बडूलाई चुनाव जित्न गठबन्धनको भर पर्नुपर्ने देखिन्छ । पूर्व मन्त्री ठगुन्नाले पनि २०७४ को भन्दा कडा मेहनत गर्नुपर्ने देखिन्छ । एमालेमा सङ्गठन तथा आन्तरिक एकता बलियो हुनु, स्थानीय तह निर्वाचनको मत परिणाम अनुकूल हुनु, पालिका चुनावपछि काङ्ग्रेस, माओवादी र समाजवादीका केही प्रदेश र जिल्ला कमिटीका नेतासहित कार्यकर्ताले एमाले प्रवेश गर्नु, ठगुन्नाले विकासवादी नेताको छवि कायम राख्नु जस्ता कारणले जित सुनिश्चित रहेको दाबी गर्दै आएको छ । 

आफूले पाँच हजार बढी मतान्तरले चुनाव जित्ने प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्नाको भनाई छ । सच्चा कम्युनिस्टले काङ्ग्रेसलाई भोट नहाल्ने भएकोले कम्तीमा माओवादीको  ४० प्रतिशत र इमानदार काङ्ग्रेस कार्यकर्ताको २० प्रतिशत भोट आफूलाई प्राप्त हुने ठगुन्नाको दाबी छ । 

बडूलाई पनि माओवादी केन्द्रका मतदाताहरूको बलियो साथ मिल्ने विश्वासका साथ चुनाव जित्ने दाबी देखिन्छ । गठबन्धनका सबै पार्टीको मत जोड्दा एमालेको हाराहारीमा पुग्नु, केन्द्रीय राजनीतिमा बलियो प्रभाव हुनु, अहिले पनि सरकारमा हुनु जस्ता कारणले बडू चुनाव जित्ने काङ्ग्रेसको दाबी देखिन्छ । 

दार्चुलाबाट प्रतिनिधि सभाका लागि बडू र ठगुन्नासङगै राप्रपाबाट नरेन्द्रसिंह धामी, नेमकिपाबाट विश्वराम दुवाल, राप्रपा नेपालबाट देवबहादुर बम, नेस्नल पिपुल्स पार्टीबाट धर्मसिंह दियाली, नागरिक उन्मुक्ति पार्टीबाट तारादत्त जोशी, सङ्घीय लोकतान्त्रिक मञ्चबाट रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबिन्द्रसिंह धामी गरी नौ जनाको उम्मेदवारी छ । चुनावी मैदानमा रहेका सबै उम्मेदवार आफूले जित्ने दाबी सहित प्रचारप्रसारमा व्यस्त रहेका छन् ।