नेकपा एमालेको चुनावीसभा दार्चुलाबाट सुरु हुँदै,दश हजार जनता उतार्ने तयारी

१ बर्ष अघि

२0७९ कार्तिक १३ आईतवार

नेकपा एमालेको चुनावीसभा दार्चुलाबाट सुरु हुँदै,दश हजार जनता उतार्ने तयारी

दार्चुला ।  आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेको चुनावीसभा दार्चुलाबाट सुरु हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक १८ गते दार्चुला खलंगाबाट चुनावीसभाको उद्घाटन गर्ने तयारी छ ।
ओली प्रधानमन्त्री भएको बेला चुच्चे नक्सा जारी भएकै जिल्लाबाट चुनावीसभाको उद्घाटन हुने भएपछि नेकपा एमाले दार्चुलाले तयारी तिव्रपारेको छ । खलंगामा हुने बृहत चुनावीसभामा जिल्लाभरिका दश हजार जनता उतार्ने तयारी गरेको एमाले प्रचार विभाग प्रमुख खडक बडालले बताउनुभयो । 
पहिलोपटक जिल्लाबाट देशव्यापी चुनावी अभियान सुरु हुनेभएपछि सबै पालिकाबाट जनमानसको सहभागिता व्यापक बनाउने एमालेले जनाएको छ । बडालले भन्नुभयो, उस्तै ओली आउने भएपछि जनमानसमा उल्लास छाएको छ । थप सबै पार्टी कमिटी, जनवर्गीृय संगठनलाई जनसहभागिता बढाउन परिचालन गरिएको छ ।
सबै क्षेत्र भूगोलको प्रतिनिधित्व हुने गरी सांस्कृतिक भेषभुषा आमसभामा प्रस्तुत गरिने बडालले बताउनुभयो । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारि गरेपछि पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीको भ्रमण हुन लागेको हो ।
यसअघि ओली ०७० सालको संविधानसभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वर आमसभामा पुग्नुभएको थियो । नौ वर्षपछि पुन दार्चुलामाु हुन लागेको ओलीको भ्रमणलाई भव्य बनाउन एमालेले सबै शक्ति परिचालन गर्न लागेको हो ।
चुनावको मिति नजिकिएसँगै ओलीको देश दौडाहा हुन लागेको छ । गठबन्धनको विरुद्ध चुनाव लडिरहेको एमालेले जिल्लामा आफ्ना शक्ति यथावत राख्न चाहेको छ ।
दुईपटक निरन्तर दार्चुलाबाट एमालेका गणेशसिह ठगुन्नाले निर्वाचन जित्नुभएको छ ।