पूर्वमन्त्री ठगुन्नाद्वारा चमेलिया लिफ्टीङ खानेपानी योजनाको निरीक्षण, १४ सय घरधुरीमा खानेपानी पुग्दै

१ बर्ष अघि

२0७९ कार्तिक १३ आईतवार

पूर्वमन्त्री ठगुन्नाद्वारा चमेलिया लिफ्टीङ खानेपानी योजनाको निरीक्षण, १४ सय घरधुरीमा खानेपानी पुग्दै

दार्चुला । नेकपा एमाले दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नाले लेकम गाउँपालिका १ कुणीमा निर्माणाधीन सुदूरपश्चिमकै ठूलो चमेलिया लिटीङ खानेपानी योजनाको निरीक्षण गर्नुभएको छ । पूर्व मन्त्रीसमेत रहेका ठगुन्नाले सुरु गर्नुभएको खानेपानी योजनाको स्थलगत निरीक्षण गर्नुभएको हो ।
चुनावी प्रचारप्रसारको क्रममा लेकम पुग्नुभएका उम्मेदवार ठगुन्नाले योजनाको प्रगति अवस्थाबारे जानकारी लिनुभएको हो । वर्षौदेखि खानेपानी अभावमा समस्या झेल्दै आएका लेकमबासीको लागि गौरबको योजनाको रुपमा खानेपानी योजना अघि बढेको बताउनुभयो । 
लेकम क्षेत्रका १ हजार ४ सय घरधुरीमा खानेपानी पुर्याउने गरी निर्माण कार्यअघि बढेको प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नाले बताउनुभयो । उहाँले भन्नुभयो, निकै मेहनत गरि सुख्खाग्रस्त क्षेत्रमा खानेपानी पुर्याउँदैछौ । खानेपानी नभएर वस्ती छोड्नुपर्ने अवस्थाको अन्त्य हुँदैछ । 
यो खानेपानी योजना निर्माणपश्चात लेकमबासीले कहिल्यै अभाव झेल्नुनपर्ने बताउनुभयो । लेकम मात्र नभई आफु सांसद भएको बेला लिफ्टीङ र पम्पिङ खानेपानीमार्फत मालिकार्जुनको न्वालपानी, शैल्यशिखरको काडापारी, बन्तोली, लगायतका विकट वस्तीमा खानेपानी पुगेको छ । 
दार्चुला सदरमुकाम खलंगामा साना सहरी खानेपानी सञ्चालन गरिएको छ । यहाँका ग्रामीण बस्तीहरुमा एक घर एकधारा योजनाहरु सञ्चालनमा रहेका छन् ।
लेकम क्षेत्रलाई सडकले जोड्ने गरी निर्माण कार्य भइरहेको छ । लेकमको मुहार फेर्न अब धेरै समय लाग्दैन् उहाँले भन्नुभयो । सम्बृद्ध लेकम बनाउन हामी प्रतिबद्ध छौ ।
यस्तै प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशीले आफ्नो निर्वाचन क्षेत्रभित्र निर्माण सम्पन्न बाँकी रहेका योजनाहरु आफ्नो कार्यकालमा पूरा गर्ने बताउनुभयो । तपाई हामीलाई मत दिएर जिताउनुहोसु, उहाँले भन्नुभयो, एमालेले सुरु गरेका र गर्न बाँकी काम पूरा गर्न बचनबद्ध छौ ।
यस्तै प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशी नेतृत्वको टोली नौगाड गाउपालिका वडा नम्बर २ दल्लेख भारानी, चौरीगाउँ, गोदानी हुँदै वडा नम्बर ३ कैदमलेक,  देउलाडमुल, हुँदै खार पुगेको छ ।