निर्वाचन सामग्री ५१ वटा जिल्लामा ढुवानी हुँदै स् ८ वटा दुर्गम जिल्लामा पुग्यो

१ बर्ष अघि

२0७९ कार्तिक १३ आईतवार

निर्वाचन सामग्री ५१ वटा जिल्लामा ढुवानी हुँदै स् ८ वटा दुर्गम जिल्लामा पुग्यो

काठमाण्डौ  । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको छ । यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालीकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ । यी बाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्रीहरू पठाइसकिएको छ । यद्यपि ती जिल्लाहरूमा सबै सामग्री ढुवानी हुन बाँकी छ ।

आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू ढुवानी गर्नुपर्ने हुन्छ । आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फ झण्डै २ करोड ३७ लाख थान मतपत्र छपाइको काम पनि सकेको छ ।

प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार  गरी २ करोड ३६ लाख ८० हजार थान मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले समानुपातिकतर्फका मतपत्र धेरैजसो जिल्लामा ढुवानी गरिसकेको छ । आज सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा प्रत्यक्षतर्फका मतपत्र ढुवानी हुने आयोगले जानकारी दिएको छ ।