बलात्कारीलाई पक्राउ गर्न नसक्ने सरकार नालायक: देउवा

५ बर्ष अघि

२0७५ आश्विन २0 शनिबार

बलात्कारीलाई पक्राउ गर्न नसक्ने सरकार नालायक: देउवा

दृष्टीकोण समाचार, असोज  २०, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् ।कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरेका हुन् । नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पन्तको बलात्कार तथा हत्या गर्नेलाई पक्राउ गर्नुको साटो प्रमाण मेटाउने काम भएको बताए ।उनले अघि भने, ‘बलात्कारीलाई पक्राउ गर्न सक्दैन, प्रमाण मेटाउनेलाई कारबाही गर्न सक्दैन भने यो सरकार कति नालायक छ भन्ने प्रष्ट भएको छ ।’कम्युनिष्ट सरकारले नेपालमा वितण्डा मच्चाइरहेको कांग्रेस सभापति देउवाको आरोप छ । उनले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा आपत्ति जनाए । ‘वातावरणीय हिसावले मिल्दै मिल्दैन । जंगल मास्ने संयन्त्रण भइरहेको छ’ उनले भने, ‘त्यो भन्दा त दिपायल नै ठीक थियो ।’अब गोदावरीमा नयाँ संरचना बनाउँदा सम्पूर्ण सुदूरपश्चिमको विकास खर्च नै सिद्धिने उनले बताए । राजधानीका लागि धनगढी नै उपयुक्त रहेको भन्दै उनले प्रदेशसभाको निर्णयको विरोधमा उत्रन पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।