प्रत्यक्षतर्फ २० जिल्लाको ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न

१ बर्ष अघि

२0७९ कार्तिक ३ बिहीबार

प्रत्यक्षतर्फ २० जिल्लाको ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाण्डौ । मंसिर ४ मा हुने चुनावका लागि प्रत्यक्षतर्फ २० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । प्रतिनिधि सभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेश सभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भएको र यो झण्डै ३० प्रतिशत रहेको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म १ करोड २८ लाख ४९ हजार ५ सय मतपत्र छपाइ भइसकेको छ । जसमा प्रदेश सभातर्फको ६४ लाख ३२ हजार ५ सय र प्रतिनिधि सभातर्फ ६४ लाख १७ हजार रहेको छ ।

अहिले कायम रहेको १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताको लागि प्रत्यक्षतर्फ झण्डै ४ करोड र समानुपातिकतर्फ ४ करोड मतपत्र आवश्यक पर्नेछ ।

यसअघि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ ।

प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

आजदेखि सुदूरपश्चिम प्रदेशका जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी शुरु भएको छ ।

कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुलालगायतका जिल्लामा मतपत्र ढुवानी भएको छ । वाग्मती, मधेश र प्रदेश एकका जिल्लामा भने यसअघि नै मतपत्र ढुवानी भइसकेको छ ।