दृष्टीकोण समाचार, असोज २०, काठमाडौं । पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय संस्था (एनजीओ)हरुलाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश दिएको छ । ति संस्थाहरुलाई आफ्ना सबै काम बन्द गर्न पनि पाकिस्तान सरकारले भनेको छ ।पाकिस्तानमा मानव अधिकारको उल्लंघन र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने घटना बढेको बेला सरकारले यस्तो निर्णय लिएको बीबीसीले जनाएको छ । यो निर्णयबाट एक्सन एड, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल लगायतका संस्थाहरु प्रभावित भएका छन् ।पाकिस्तानको गुप्तचर विभागले अन्तर्राष्ट्रिय संगठनहरुलाई शंकास्पद दृष्टिबाट हेर्दछ । यसअघि अमेरिकी सीआईएले ओसामा बिन लादेनलाई खोज्ने गोप्य उद्देश्यसहित फर्जी खोप अभियान चलाएको आरोप पाकिस्तानले लगाउँदै आएको छ ।एक्सन एडले पाकिस्तान सरकारको यो फैसला समुदाय माथिको हमला भएको टिप्पणी गरेको छ । तर, यसबारे पाकिस्तान सरकारको तर्फबाट भने कुनै प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।यसअघि सन् २०१७ मा पनि पाकिस्तानले यस्तै निर्णय लिएको थियो तर पश्चिमा सरकारको दबावमा उक्त निर्णय फिर्ता लिइएको थियो ।