दार्चुलामा दुइवटा अस्थायी मतदान केन्द्र स्थापना हुने

१ बर्ष अघि

२0७९ आश्विन २८ शुक्रबार

दार्चुलामा दुइवटा अस्थायी मतदान केन्द्र स्थापना हुने

दार्चुला । आगामी मसिरमा हुने प्रतिनिधी सभा निर्वाचनका लागि दार्चुलामा दुइवटा अस्थायी मतदान केन्द्र स्थापना हुने भएको छ । सदरमुकाम स्थित घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र स्थापना हुने भएको हो ।जिल्लामा रहेका सरकारी कर्मचारी, सुरक्षाकर्मी एवं कारागारमा रहेका कैदी बन्दिहरूका लागि अस्थायी मतदान केन्द्र सिफारिस भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । अस्थायी मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुने प्रजिअ उपाध्यायले बताएका छन । घरेलु कार्यालयको मतदान केन्द्रमा सदरमुकाममै रहेका सरकारी कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधीहरूले मतदान गर्नेछन् ।

कर्मचारी वा सुरक्षा निकायका प्रतिनिधी जुनसुकै जिल्लाको भएपनि फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएकाहरूले सो मतदान केन्द्रबाट समानुपातिकतर्फ मतदान गर्न पाउने प्रजिअ उपाध्यायले बताउनु भयो । त्यसैगरी कारागारमा अस्थायी मतदान केन्द्र कायम भएसँगै प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ कारागारमा रहेका थुनुवा तथा कैदीले पनि मतदान गर्न पाउने भएका छन् । त्यसका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलन थालेको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिनु भयो । मतदाता नामावलीमा नाम दर्ता गराएका कैदि बन्दीहरूले कारागारबाटै समानुपातिक तर्फ मतदान गर्न पाउने बताइएको छ ।

सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा÷कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी, सरकारबाट स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिले पनि प्रतिनिधिसभा सदस्य तर्फको समानुपातिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था उल्लेख गरेको छ । । निर्वाचनलाई शान्तीपुर्ण र भयरहित बनाउन सवै मतदान केन्द्रहरूमा आवश्यक सुरक्षाको तयारी गरिएको सुरक्षा समिति दार्चुलाले जनाएको छ ।