बेथिति उजागर गर्ने हवल्दार नरेश साहुले पाए सफाइ

१ बर्ष अघि

२0७९ आश्विन २८ शुक्रबार

बेथिति उजागर गर्ने हवल्दार नरेश साहुले पाए सफाइ

दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित महाकाली नगरपालिका–२ मुल्लाका सशस्त्र प्रहरीका हवल्दार नरेशसिंह साहुले सफाइ पाउनुभएको छ। २०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उहाँले सशस्त्रको ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा कारागार चलान हुनुभएको थियो ।

गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उहाँ माथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको झुठो अभियोग लगाइएको थियो । सशस्त्रको उच्च अदालतबाट सफाइ पाएर नरेश साहु भोलि घर फर्किन लागेको उहाँको वकिलमार्फत जानकारी प्राप्त भएको छ । २०४० सालमा जन्मिएका नरेशले दक्षिणी सुडानमा युएन मिशन पनि खाइसक्नुभएको छ ।


साहु एक वर्षदेखि दार्चुलामा हुनुहुन्थ्यो । पर्वत दरबन्दी भएपनि घर व्यवहार मिलाउनुपर्ने भएकाले उहाँले दार्चुलामा काज मिलाउनुभएको थियो । स्थानीय निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधिकृतको अंगरक्षक भएर खटिएका नरेशले त्यहाँ भेटिएका एक स्थानीय पत्रकारलाई सशस्त्र प्रहरीभित्रको बेथितिबारे जानकारी दिएको बताइएको छ । सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि सुधार हुने आशा नरेशले आशा गर्नुभएको थियो ।

विश्वासमा उपलब्ध गराएको दैनिक हाजिरी विवरणबारे पत्रकारले नै सशस्त्र प्रहरीलाई सघाउ पुग्नेगरी लिखित बयान गरिदिएपछि नरेशका लागि यो प्रकरण प्रत्युत्पादक भएको थियो । गत जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ कारागार पठाइएकोमा परिवार निराश बनेको थियो । श्रीमती दुर्गाले निर्दोश रहेका श्रीमानले सफाइ पाएको खबर सुनेर खुसी लागेको बताउनुभयो । सहयोग गर्ने सबैलाई उहाँले धन्यबाद समेत ज्ञापन गर्नुभयो ।

नरेशका एक छोरा र एक छोरी छन्। दाइको मृत्यु भएपछि तिनका ३ सन्तानको पालनपोषण पनि नरेशले नै गर्दै आउनुभएको थियो । जागिरले घरपरिवार पाल्दै आएका नरेशलाई जन्मकैदको माग दाबीसहित मुद्दा चलाइपछि चौतर्फी बिरोध भएको थियो । तर सफाइ पाएको खबरले सबैतिर न्याय पाइएको भन्दै सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् ।